झुत्रे ज्यामिरे सिँचाइ योजनाको काम सम्पन्न, मेयर थापाद्वारा उद्घाटन

सोमबार, २८ जेठ २०८१
इलाम / इलाम नगरपालिका १ साखेजुङमा रहेको झुत्रे ज्यामिरे सिँचाइ योजना निर्माणको काम पुरा भएको छ । स्वीज सरकारको सहयोग र सङ्घीय, प्रदेश, स्थानीय तहको साझेदारीमा (व्यवस्थित लगानी योजना) काम सम्पन्न भएको हो । सो आयोजनाको इलाम नगरपालिकाका प्रमुख केदार थापाले एक कार्यक्रम बिच उद्घाटन गरेका छन् ।   उद्घाटन पछि सम्बोधन गर्दै प्रमुख थापाले इलाम नगरपालिकाको साजेजुङ कृषिमा सम्भावना भएको वडा रहेका बताए । उनले कृषि पेसा गरिरहेका किसानको मागलाई ध्यानमा राखेर सो आयोजना सञ्चालन गरिएको बताए । अब बेमौसमी तरकारी उत्पादन गर्न सके वढि लाभ लिन सकिने प्रमुख थापाको भनाई छ ।   पहिला सामान्य धान फल्ने खेतमा अब सहज सिँचाइ हुने भएकाले किसानले उत्पादन बुद्धिसँगै आत्मनिर्भर तर्फ समेत उन्मुख हुनु पर्नेमा प्रमुख थापाको जोड छ । प्रमुख थापाले नगरलाई समृद्ध बनाउन कृषिलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए । वडाध्यक्ष गायत्रीराम बस्नेतले आयोजना सम्पन्न भएसँगै किसानको नौ सय रोपनी जमिनमा सिँचाइ सुविधा थपिएको बताए । वडालाई समृद्ध बनाउन कृषि पेसामा लागेका जनतालाई लक्षित विभिन्न कार्यक्रम ल्याएको बताउँदै उनले कृषि क्षेत्रमा लागेका किसानलाई राहत मिल्ने विश्वास व्यक्त गरे । यस योजनाले ७१ घरधुरी प्रत्यक्ष लाभान्वित हुने छन् । यसमा विपन्न परिवारका ३६ घरधुरीलाई राहत मिल्ने बताइएको छ । सङ्घीय, प्रदेश र स्थानीय सरकारको २०/२० प्रतिशत र स्थानीय उपभोक्ताको १० प्रतिशत लागत साझेदारी रहने छ । यसमा स्वीज सरकारको ३० प्रतिशत लगानी रहेको छ । स्वीज सरकारको साझेदारीमा नै जिल्लामा एक सय २२ वटा योजना सञ्चालनमा रहेको बताइएको छ । निर्माण उपभोक्ता समितिका सचिव निराज बस्नेतका अनुसार योजना ९९ लाख ८० हजार, छ सय ७५ रुपयाको लागतमा सम्पन्न भएको छ । झुत्रे खोलाको मुहानबाट थापा गाउँसम्म ३५ सय ९५ मिटर कुलो निर्माण भएको छ । जसमा एघार सय चालिस मिटरमा पक्की ढलान गरिएको छ । कार्यक्रममा वडा सदस्य मोहन गुरुङ, इलाम ३ का पूर्व वडाध्यक्ष तीर्थ गुरुङ लगायतको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार