जोगमाईमा क्यास्केट जलविद्युत आयोजना निर्माण हुँदै

सोमबार, २८ जेठ २०८१
इलाम / इलामको जोगमाई खोलामा “माथिल्लो जोगमाई खोला जलविद्युत आयोजनाको क्यास्केट आयोजना” निर्माण भइरहेको छ । ५ दशमलव २ मेगावाट क्षमताको आयोजनाको निर्माण करिब ७० प्रतिशत सम्पन्न भएको बताइएको छ । माथिल्लो जोगमाई खोला जलविद्युत आयोजनाबाट निस्किएको पानीलाई करिब साढे तीन किलोमिटर पाइपलाइन मार्फत असलेमा रहेको पावर हाउस सम्म पुर्‍याइ विद्युत् उत्पादन गरिने भएको छ । एक सय २८ मिटर उचाइबाट पावर हाउसमा पानी खसालेर त्यहाँ जडान गरिएको छ । दुई वटा टर्बाइन मार्फत विद्युत् उत्पादन गरिने सञ्चालक हरिबाबु न्यौपानेले जानकारी दिए । २०७९ चैत्र महिनाबाट निर्माण सुरु भएको आयोजनाको मुख्य प्रभावित क्षेत्र माइजोगमाई गाउँपालिकाको ३ र ४ नम्बर वडा नामसालिङ्गमा रहेको छ ।   आयोजनाको सिभिल तर्फको काम सकेपछि मेकानिकल काम हुने र आगामी असार मसान्तभित्रमा निर्माण सम्पन्न गर्ने लक्ष रहेको मेकानिकल इन्जिनियर विनोद ज्ञवालीले बताए । आयोजनाको निर्माणको ठेक्का शेर्पा हाइड्रो कन्स्ट्रक्सनले लिएको छ । नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेको पुवा खोला जलविद्युत आयोजना सहित माथिल्लो जोगमाई खोला जलविद्युत आयोजनाको समेत उक्त निर्माण कम्पनीले ठेक्का लिएर काम गरेको थियो । कम्पनीका छिरिङ शेर्पाले जोगमाई क्यास्केटमा केही उपकरण लगायतका सामग्री भन्सारमा रहेकाले निर्माणमा केही ढिलाइ भएको बताए । जोगमाई खोलामा निर्माण भएको यो तेस्रो जलविद्युत आयोजना हो । एक अरब लगानीमा आयोजना निर्माण भइरहेको न्यौपानेको भनाई छ । नवविल बैङ्कको एकल लगानीमा निर्माण भइरहेको आयोजनाको मुख्य प्रवर्द्धक कम्पनी सानभी इनर्जी लिमिटेड रहेको छ । कम्पनीले प्रभावित क्षेत्र तथा सर्वसाधारणका लागि शेयर निष्कासन गर्ने तयारी भइरहेको जनाइएको छ । इलाम जिल्लामा मात्र हालसम्म १६ वटा जलविद्युत आयोजना निर्माण सम्पन्न भई एक सय २१ मेगावाट विद्युत् वर्षा याममा उत्पादन भइरहेको छ । दुई आयोजना मात्र निर्माण भइरहेको छ । यी मध्ये माई खोलामा मात्र नौ वटा जलविद्युत आयोजना निर्माण भएका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार