बृद्धबृद्धाहरुको स्वास्थ्य परिक्षण तथा सहयोगी सामाग्री हस्तान्तरण

बुधबार, ३० जेठ २०८१
इलाम : इलाम नगरपालिका छ मा रहेका बृद्धबृद्धालाई सहयोगी सामाग्री हस्तान्तरण गरिएको छ । वडा कार्यालयमा आयोजित एक कार्यक्रममा वडामा रहेका करिब एक सय जना बृद्धबृद्धालाई सहयोगी सामग्री हस्तान्तरण गरिएको हो । इलाम नगरपालिकाकी उपप्रमुख विष्णुकुमारी दाहाल लिम्बु र वडाध्यक्ष दुर्गा श्रेष्ठ मदनले सहयोगी सामाग्री हस्तान्तरण गरेका हुन् । बृद्धबृद्धाहरुलाई लौरो, छाता, कम्मरमा लगाउने पोटी लगायतका सामाग्री हस्तान्तरण गरिएको वडा सचिव खड्ग बस्नेतले बताए । साथै उनीहरूको स्वास्थ्य परीक्षण समेत गरिएको थियो । आयुर्वेदिक उपचार पद्धति सम्बन्धी सेवा समेत सञ्चालन गरिएको थियो । चालु आर्थिक वर्ष २०८०।८१ को वडा स्तरीय सामाजिक विकास कार्यक्रमबाट आयुर्वेदिक उपचार पद्धति सम्बन्धी सेवा सञ्चालन तथा ज्येष्ठ नागरिक सम्मान सम्बन्धी कार्यक्रम सञ्चालन गरिएको बताइएको छ । वडा कार्यालयको आर्थिक सहयोगमा इलाम नगरपालिका आयुर्वेद शाखाको सहयोग तथा वडा स्तरीय ज्येष्ठ नागरिक समन्वय समिति र वडा स्तरीय आरोग्य समूहको आयोजनामा कार्यक्रम भएको थियो । ज्येष्ठ नागरिक वडा स्तरीय समन्वय समितिका अध्यक्ष श्री शेर बहादुर दाहालको अध्यक्षता तथा इलाम नगरपालिकाकी उपप्रमुख दाहालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै वडाध्यक्ष श्रेष्ठले बृद्धबृद्धालाई सम्मान गर्नु पर्नेमा जोड दिए । उनले कसैले पनि बृद्धबृद्धाहरुलाई हेला गर्न नहुने भन्दै अग्रजले देखाएको बाटोमा हिँड्नु पर्नेमा जोड दिए । कार्यक्रममा ज्येष्ठ नागरिक सम्बन्धी कानुनी व्यवस्थाको बारेमा समेत जानकारी गराइएको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार