किसानलाई हाते ट्याक्टर र बाख्रा वितरण

बुधबार, ३० जेठ २०८१
इलाम /  जेठ स्थानीय तहको वडा स्तरमा समेत किसानहरूलाई कृषि तथा पशुपंक्षि तर्फ अनुदान दिने कार्यक्रम सञ्चालन हुन थालेका छन् । इलाम नगरपालिका वडा ९ ले किसानहरूलाई हाते ट्याक्टर र उन्नत जातको बाख्राको पाठी अनुदानमा उपलब्ध गराएको हो । किसान हले अनुदान पाएपछि यसको अनुगमन प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् । इलाम नगर पालिका वडा नम्बर ९ मा किसानहरूलाई प्रविधि मैत्री खेती गर्नका लागि हाते ट्याक्टर वितरण गरिएको छ । गत वर्ष ८ वटा र यो वर्ष ८ वटा ट्याक्टर वितरण गरिएको छ । १५ देखी २० घर समेटेर समूहलाई नै ट्याक्टर उपलब्ध गराइएको वडाध्यक्ष गोपाल चौहानले जानकारी दिए । चौहानले समूहमा ट्याक्टर मर्मत सम्भार गर्नका लागि निश्चित शुल्क लिनुपर्ने व्यवस्था मिलाइएको बताए । कार्यक्रम मार्फत ११ लाख ४० हजार बराबरको अनुदान सहयोग पुगेको वडा मार्फत जानकारी दिइएको छ । हाते ट्याक्टर पाउँदा वडावासीले कृषि कार्यमा ठुलो राहत मिलेको बताएका छन् । स्थानीय नरपति दाहालले किसानलाई उपलब्ध भएका अनुदानका उपकरण प्रभावकारी सञ्चालन भए नभएको अनुगमन आवश्यक भएको बताए । यस्तै गरी वडाले आर्थिक वर्ष २०८०/८१ को लक्षित वर्ग कार्यक्रम अन्तर्गत दलित तथा विपन्नहरूलाई उन्नत जातको बाख्राको पाठी समेत उपलब्ध गराएको छ ।   वडाका २६ जना दलित तथा विपन्नहरूलाई पूर्ण अनुदानमा बाख्राको पाठी वितरण गरिएको छ । कार्यक्रमले न्यून आय भएका परिवारलाई बाख्रा पालन गरी आय आर्जन बढाउन मद्दत पुग्ने देखिएको छ । एक लाख बराबरको उन्नत जातका बाख्राको पाठी वितरण गरिएको वडाले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार