ताप्लेजुङका ८ स्थानीय तहमा बेरुजु दुई करोड माथि

विहीबार, ३१ जेठ २०८१
ताप्लेजुङ / जिल्लाका ८ स्थानीय तहमा असुल गर्नुपर्ने बेरुजु रकम दुई करोड माथि देखिएको छ । महालेखा परीक्षकको ६१औँ प्रारम्भिक प्रतिवेदन अनुसार दुई करोड २० लाख रुपैयाँ बढी रकम तिर्नु पर्ने देखिएको हो । पाथीभरा याङवरक गाउँपालिका बाहेकमा बेरुजु रकम बढी छ । पाथीभरा याङवरकमा भने बेरुजु शून्य छ । महालेखा परीक्षकको प्रतिवेदन अनुसार ८ स्थानीय तहले २ करोड २० लाख ६९ हजार १ सय ४४ रुपैयाँ असुल गर्नुपर्ने बेरुजु देखिएको छ । प्रतिवेदन अनुसार फुङलिङ नगरपालिकाले ७१ लाख ९३ हजार ७ सय ५८ रुपैयाँ असुल गर्नुपर्ने हुन्छ । फक्ताङलुङ गाउँपालिकाले ३५ लाख ३८ हजार ४ सय २५ रुपैयाँ, सिरिजङ्गा गाउँपालिकाले २७ लाख ४४ हजार ४ सय ७५ रुपैयाँ र सिदिङ्वा गाउँपालिकाले २५ लाख ५३ हजार ४ सय ३० रुपैयाँ बेरुजु असुल गर्नुपर्ने देखिएको छ । यस्तै मिक्वाखोला गाउँपालिकाले २२ लाख ९५ हजार २ सय २४ रुपैयाँ, मैवाखोला गाउँपालिकाले २० लाख ४२ हजार ५ सय ६४ रुपैयाँ,आठराई त्रिवेणी गाउँपालिकाले ९ लाख ५६ हजार १ सय ५० रुपैयाँ र मेरिङदेन गाउँपालिकाले ७ लाख ४५ हजार १ सय १८ रुपैयाँ असुल गर्नुपर्ने बेरुजु देखिएको छ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ को दफा २९ अनुसार प्रचलित कानुन बमोजिम रीत नपु¥याई कारोबार गरेको वा राख्नुपर्ने लेखा नराखेको तथा अनियमित वा बेमुनासिब तरिकाले आर्थिक कारोबार गरेको भनी लेखा परीक्षण गर्दा औंल्याईएको वा ठहराएको कारोबारलाई बेरुजुको रूपमा परिभाषित गरिएको छ । बेरुजुलाई असुल गर्नुपर्ने, नियमित गर्नुपर्ने र पेस्की बाँकी गरी तीन भागमा वर्गीकरण गरिएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार