झापाको शिवसताक्षीमा दुई छोरासहित आमा मृत फेला

शुक्रबार, ३२ जेठ २०८१
झापा - झापाको शिवसताक्षी नगरपालिका-३ स्थित एक घरमा एकजना आमा र उनका दुई जना नाबालक छोराहरू घरभित्रै मृत भेटिएका छन् । जिल्ला प्रहरी कार्यालय झापाका एसपी मिलन केसीका अनुसार आमा अन्जली बेस्रा, उनका ७ वर्षीय जेठा छोरा विशाल र कान्छा छोरा २ वर्षीय आयुष घरभित्रै मृत भेटिएका हुन् । केसीका अनुसार आमा झुन्डिएको अवस्थामा भेटिएका हुन् । उनका दुईजना छोरा भने ओछ्यानमा मृत अवस्थामा फेला परेका हुन् । घरभित्र बान्तासमेत गरेको देखिएकाले विषादीसमेत प्रयोग भएको हुन सक्ने प्रारम्भिक अनुमान प्रहरीले गरेको छ । घरभित्र विषादीको गन्धसमेत आइरहेकाले आमाले छोराहरूलाई विषादी खुवाएर आफू झुन्डिएको आशंका प्रहरीको छ । अहिले त्यहाँ प्रहरी निरीक्षकको नेतृत्वमा एउटा टोली पुगेर अनुसन्धान थालिसकेको छ । अञ्जलीका पति वैदेशिक रोजगारीका लागि कतारमा रहेको खुलेको प्रहरीले जनाएको छ । अनुन्धानको प्रारम्भिक चरणमा रहेकाले घटनाको कारणबारे केही खुल्न नसकेको प्रहरीले उल्लेख गरेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार