आइसिसी टी–२० विश्वकप : दश वर्षपछि पुनरागमन गर्दा नेपाल जितविहीन

मंगलबार, ०४ असार २०८१
काठमाडौं : १० वर्षपछि दोस्रोपटक आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिता खेलेको नेपाल जितविहीन बनेको छ । अमेरिका र वेस्ट इन्डिजले संयुक्त रूपमा आयोजना गरेको विश्वकपमा नेपालले समूह ‘डी’मा एक अंक मात्र बटुल्यो । समूहको अन्तिम खेलमा बंगलादेशविरुद्ध खेल्नुअघि नै नेपाल सुपर एटको दौडबाट बाहिरिएको थियो । नेपालले सोमबार आफ्नो अन्तिम खेलमा टेस्ट राष्ट्र बंगलादेशसँग २१ रनले पराजित भएसँगै दोस्रो विश्वकपको यात्रा जितविहीनका साथ समाप्त गरेको हो ।
‘समग्रमा विश्वकपमा हाम्रो बलिङ निकै राम्रो भयो । तर, ब्याटिङमा चुक्यौँ,’ कप्तान रोहितकुमार पौडेलले भने, ‘यो टोली निकै प्रतिभाशाली छ । अर्काे विश्वकपसम्म ब्याटिङमा धेरै सुधार गर्नुपर्छ ।’ नेपालविरुद्धको जितसँगै बंगलादेश उपविजेताका साथ सुपर एटमा प्रवेश गरेको छ । दक्षिण अफ्रिका लगातार चार जित निकाल्दै अघिल्लो चरणमा प्रवेश गरेको थियो । वर्षाले प्रभावित खेलमा नेपालले श्रीलंकासँग एक अंक प्राप्त ग¥यो । नेपाल पहिलो खेलमा एसोसिएट राष्ट्र नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भयो । टेस्ट राष्ट्र दक्षिण अफ्रिकासँग अन्तिम बलमा नेपाल एक रनले पराजित भएको थियो ।  बलिङ उत्कृष्ट, ब्याटिङमा संघर्ष सन् २०१४ पछि टी–२० विश्वकपमा सहभागी भएको नेपालले बलिङमा उत्कृष्ट प्रदर्शन गर्‍यो । ब्याटिङमा भने नेपाली खेलाडीले सधैँजसो संघर्ष गरेका थिए । नेपालका कप्तान रोहितले बंगलादेशविरुद्ध १६ ओभर स्पिनरलाई लगाएका थिए । स्पिनरले आठमध्ये ६ विकेट लिए । दक्षिण अफ्रिकाविरुद्धको खेलमा दुई स्पिनरले सात विकेट लिएका थिए । वेस्ट इन्डिजमा नेपालले दुई खेल खेल्दा १३ विकेट स्पिनरको नाममा रह्यो । दीपेन्द्रसिंह ऐरीले प्रतियोगितामा तीन खेल खेल्दा ६ विकेट लिए । कुशल भुर्तेलले चार तथा रोहितकुमार र सन्दीप लामिछानेले समान दुई विकेट लिएका हुन् । तीव्र गतिका बलरले दक्षिण अफ्रिकाविरुद्ध विकेट लिन सकेनन् । बंगलादेशविरुद्ध सोमपाल कामीले दुई विकेट हात पारे । नेदरल्यान्ड्सविरुद्ध सोमपाल तथा अभिनाश बोहराले समान एक विकेट लिएका थिए । नेपाल नेदरल्यान्ड्सविरुद्ध एक सय ६, दक्षिण अफ्रिकाविरुद्ध एक सय १५ तथा बंगलादेशविरुद्ध ८५ रनमा समेटिएको थियो । ओपनर आसिफ शेखले तीन इनिङ्समा सर्वाधिक ६३ रन बनाएका छन् । अनिलकुमार शाहले ३८ रन, कप्तान रोहितले ३६, कुशल मल्लले ३७, दीपेन्द्रले ३२, भुर्तेलले २४, गुल्सन झाले २० रन बनाए । कप्तान रोहित बलिङमा सफल भए पनि ब्याटिङमै चुकेको प्रतिक्रिया दिएका छन् । ‘विश्वकपभरि हामीले बलिङमा उत्कृष्ट प्रदर्शन गर्न सफल भयौँ । तर, ब्याटिङ राम्रो हुन सकेन । तीनवटै खेलमा शीर्ष क्रम चल्न सकेन ।’ अन्तिम खेलमा बंगलादेशसँग २१ रनले पराजित  वेस्ट इन्डिजको किङ्सटाउनमा टस हारेर ब्याटिङ गरेको बंगलादेश १९.२ ओभरमा एक सय ६ रनमा समेटिएको थियो । सहज लक्ष्य पछ्याएको नेपालले १९.२ ओभरमा अलआउट हुँदा मात्र ८५ रन बनायो । नेपालले चौथो खेलमा पनि १७ ओभरपछि राम्रो प्रदर्शन गर्न सकेन । पछिल्लो तीन विकेट गुमाउँदा एक रन पनि जोड्न सकेन । नेपालको इनिङ्समा कुशल मल्ल र दीपेन्द्रले ५८ बलमा ५२ रनको साझेदारी गरेका थिए । दीपेन्द्रले ३१ बलमा २५ रन बनाए । कुशल मल्लले ४० बलमा एक चौका र एक छक्कासहित सर्वाधिक २७ रन बनाएका हुन् । ओपनर आसिफ शेखले १७ रन बनाए । आशा गरिएका अलराउन्डर गुल्सन झा र सोमपाल कामी शून्यमा आउट हुने भएपछि नेपाल दबाबमा आएको थियो । नाजिम हसन सकिवले चार ओभरमा दुई मेडनसहित सात रन खर्चेर सर्वाधिक चार विकेट लिए । मुस्तफिजुर रहमानले चार ओभरमा एक मेडनसहित सात रन दिएर तीन विकेट लिएका थिए । सकिव अल हसनले दुई विकेट लिए । तास्किन अहमेदको नाममा एक विकेट रह्यो । यसअघि नेपाली बलर हाबी भएपछि बंगलादेश दबाबमा आएको थियो । इनिङ्सको पहिलो बलमै सोमपालले ओपनर तान्जिद हसनलाई कट एन्ड बोल्ड गरे । अलराउन्डर सकिव अल हसनले २२ बलमा सर्वाधिक १७ रन बनाए । महमुदुल्लाह र सकिवले २० बलमा सर्वाधिक २२ रनको साझेदारी गरेका थिए । बलिङमा मात्रै बलियो भयौँ रोहितकुमार पौडेल, कप्तान, नेपाल हामीले बलिङतर्फ निकै राम्रो प्रदर्शन गरेका छौँ । ब्याटिङमा खासै राम्रो हुन सकेन । विशेषतः शीर्ष क्रमको हाम्रो ब्याटिङ चल्न सकेन । बंगलादेशविरुद्ध राम्रो साझेदारी पनि भयो । हामीले ब्याटिङमा निकै सुधार गर्नुपर्छ । यो टिमको भविष्य राम्रो छ । हामी अर्काे–अर्काे विश्वकपमा थप बलियो भएर फर्कनेछौँ । अन्तिम खेलमा बंगलादेशका बलरले उत्कृष्ट प्रदर्शन गरे । हामी नयाँ बलमैत्री हुन सकेनौँ । नेपालविरुद्ध बलिङ राम्रो भयो तान्जिम हसन सकिव, खेलाडी, बंगलादेश हामीले नेपालविरुद्ध बलिङमा राम्रो गर्‍यौँ । हामीले जसरी पनि स्कोर पूरा गर्नुपर्ने थियो । सबैले बलिङमा राम्रो गरे । हामी सुपर एटका लागि उत्साहित छौँ । हामी राम्रो गर्नेमा विश्वस्त पनि छौँ । सन्दीपको सय विकेट पूरा नेपालका लेग स्पिनर सन्दीप लामिछानेले अन्तर्राष्ट्रिय टी–२० खेलमा सय विकेट पूरा गरेका छन् । बंगलादेशविरुद्धको खेलमा दुई खेलाडी आउट गर्दै उनले सय विकेट पूरा गरेका हुन् । अन्तर्राष्ट्रिय क्रिकेटमा एक सय विकेट लिने उनी पहिलो नेपाली बलर बनेका छन् । टी–२० आईमा छिटो सय विकेट लिने उनी दोस्रो बलर हुन् । अफगानिस्तानका कप्तान रसिद खान पहिलो स्थानमा छन् । सन्दीपले चालू विश्वकपमा पहिलो विकेटका रूपमा बंगलादेशका तोहिद हृदोयलाई कप्तान रोहितबाट क्याच गराए । उनले तान्जिम हसन सकिवलाई बोल्ड गर्दै सय विकेट पूरा गरे । अमेरिकाले भिसा नदिएपछि सन्दीप नेदरल्यान्ड र श्रीलंकाविरुद्ध टोलीमा रहेनन् । सन्दीपले ५४औँ खेलमा कोसेढुंगा पार गरेका हुन् । सन् २०१८ मा आइसिसीको विश्व ११ बाट वेस्ट इन्डिजविरुद्ध खेल्दै सन्दीपले टी–२० आईमा डेब्यु गरेका थिए । ५ नोभेम्बर २०२३ यता उनी मैदानबाहिर रहे । त्यसपछि दक्षिण अफ्रिकाविरुद्धको खेलबाट पुनरागमन गरेका हुन् । आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार