योग:सम्पूर्ण स्वास्थ्यको एउटै जवाफ

शुक्रबार, ०७ असार २०८१
डा. नम्रता पाण्डे वैदिककालमा ऋषिमुनिहरू हिमालयको काखमा गएर ध्यान र योग गर्थे भन्ने सुनिन्थ्यो। हिमालय अर्थात् धर्तीको उच्च स्थान। तर यसको प्रतीकात्मकता थियो चेतनाको उच्च स्थानमा स्थित भएर ध्यान र योगको अनुभूतिमार्फत जीवनलाई शारीरिक, मानसिक, सामाजिक र आध्यात्मिक स्वास्थ्य अर्थात् पूर्ण स्वास्थ्य प्राप्त गरेर स्वस्थ जीवन बाँच्नु योगको मर्म हो। त्यसै सन्दर्भमा जुन २१ को योग दिवसमार्फत आध्यात्मिक जागरण, मानसिक शान्ति एवं स्थिरता र आरोग्यता प्राप्ति हुने जनचेतना विकास गर्नु यो दिवसको महत्त्वपूर्ण पक्ष हो। यसलाई आत्मसात गर्दै अहिले ध्यान र योगतिर आकर्षित हुनेहरूको संख्या दिनानुदिन बढ्दै गएको अनुभूति गर्न सकिन्छ। हामीलाई गर्व लाग्नुपर्छ, नेपाल योगको उद्गम भूमि हो। नेपाल ऋषिभूमि, देवभूमि, शिव भूमि र नेपाल नै योगभूमि हो। तर अझै पनि योगलाई कसरी जीवनमा उतार्ने त्यो कलासँग अनभिज्ञ रहनेको संख्या पनि उति नै छ। जहाँबाट हाम्रो जन्म भयो त्यो उद्गमसँग नै हामी अपरिचित छौँ अर्थात् हामीले ख्याल गरेका छैनौँ। त्यसो त आजकल विभिन्न सम्प्रदाय, धार्मिक संघ÷संस्थालगायत थुप्रै योगाचार्यहरूले विभिन्न तरिकाले मानिसलाई योगतर्फ उन्मुख गराउन प्रेरित गरिरहेका देखिन्छन्। यो मानिसको जीवन जिउने कलामध्येको एउटा महत्त्वपूर्ण माध्यम हो तथापि हातखुट्टा तन्काउनु, स्वाप्रस्वासका प्रक्रियामार्फत शारीरिक अभ्यास गर्नु मात्र योग होइन। योग हाम्रो जीवन पूर्णता साथ जिउन आवश्यक पर्ने जीवन पद्धति र पूर्ण जीवनशैली अनि आनन्दित जीवन जिउने कला हो। योगलाई मानिसले शारीरिक स्वास्थ्य र तन्दुरुस्तीको माध्यम बनाएका हुन सक्छन् तर योग शारीरिक समस्याहरूको समाधान मात्र नभएर जीवनका सम्पूर्ण समस्याको समाधान हो। त्यसैले त भनिएको छ-
‘भवतापेंन तप्तानाम योगो हि परमौषधम’ अर्थात् सांसारिक दुःख कष्टहरूको एक मात्र औषधि योग हो।
योग वशिष्ठममा भनिएको छ-
क्षणमा नन्दितामेति क्षणमेति विषादितां। क्षणं सौम्यत्वमायाति सर्वस्मिन्नटवन्मनः।।
अर्थात् मानिस क्षणमा सुखी छ त क्षणमै दुःखी बन्छ। क्षणमै सम्पन्न ठान्दछ त क्षणमै गरिब ठान्दछ। किनकि दुःख मनमा लाग्छ, मनमा आउँछ। सिकायत मनमा आउँछ। त्यो मनदेखि पार पाउने योग भने ध्यान हो। योगसँगै आउने ध्यानलाई मानिसले बिर्सेको छ।
व्याचष्टे यः पठति च शास्त्रं भोगाय शिल्पिवत्। यतते नत्वनुष्ठाने ज्ञानबन्धुः स उच्यते।।  
बाहिरी सम्पन्नताले मात्र सुख प्राप्त गर्छु भन्ने मानिस कहिल्यै सुखी हुन सक्दैन र उसले स्वयं भित्रको इच्छा के हो बुझेको हुँदैन। भित्रको नबुझ्दासम्म दुःखबाट पार पाउन सक्दैन। परमगुरु ओशो योगगुरु पतञ्जलिको सम्मान गर्दै भन्नुहुन्छ,“भौतिक विज्ञानले बाहिरको अनुभव सिद्ध गर्दछ भने योग अर्को शुद्ध विज्ञान हो जसले भित्रको अनुभूतिलाई प्रस्फुटन गरिदिन्छ। अर्थात् भित्रको खोजको कला नै योग हो। ओशो अरू प्रष्ट  पार्नुहुन्छ-योग कुनै शास्त्र होइन न त मानिसले गर्ने कुनै विधि नै हो। योग त मानिसको आचरण हो। योग भूत र भविष्यको जानकारी पनि होइन। योग त केवल मानिसभित्रको वास्तविकता थाहा पाउने कला हो। अर्थात् योग बाहिरी अनुभव भन्दा परको अमृत रसको अनुभूति हो जुन भएमा मानिस सुख र दुःखबाट पार पाउन सक्छ। जीवनका प्रत्येक समस्याको समाधान योग भएकै कारण विश्वभर योग फैलिएको छ। पूर्वअमेरिकी राष्ट्रपतिदेखि लिएर विश्व चर्चित कलाकारहरू पनि योग गर्छन् भन्ने हामीले देखेका र सुनेका छौँ। योगले रोग निको पारेर स्वस्थ मात्र बनाउने नभई मानिसको कार्यक्षमता वृद्धि गर्न सकारात्मक सोचाइ वृद्धि गर्दछ। काम गर्ने कलामा थप कुशलता प्रदान गर्दछ र मन शान्त र आनन्दित राख्दछ। यसबाट घर, कार्यक्षेत्र र समाज नै अनुशासित बन्दछ। विश्व स्वास्थ्य संगठनले पनि मानिस शारीरिक, सामाजिक र मानसिकरूपमै स्वस्थ र सन्तुलित रहन खानपान, आचार, अभिव्यक्ति शैली सँगसँगै योगको पनि उत्तिकै महत्त्व छ भन्ने कुरामा जोड दिएको छ। हाम्रा ऋषिमुनीहरूले दिएको योगको शिक्षा शारीरिक स्वास्थ्यका लागि मात्र नभई विश्वलाई नै स्वस्थ बनाइ शान्ति र सुरक्षा प्रदान गर्नका लागि हो।
ना यथा यतते नित्यं यद्भावयति यन्मयः। यादृगिच्छेच्च भवितुं तादृग्भवति नान्यथा।।
मैले यति गरेँ, अझै गर्नु छ, संसार जित्नु छ भन्दै आधुनिकताको परिचयसँंगै आफूलाई व्यस्त छु भन्दा गर्व गर्ने मान्छेले समयअनुसार चल्नुपर्नेमा आफैँले समयलाई चलाउने गरेको पाइन्छ। यहाँ मानिसले जति नै गरेको छु भनेर घमण्ड गरे पनि अन्तिम निर्णय अस्तित्वको हातमा छ। उसले जे चाह्यो त्यही हुन्छ। मानिस केवल समयसँग चल्न सके पुग्छ। सूर्योदयसँगै उठ्ने, आफ्नो नियमित कार्य सम्पन्नपछि योग–ध्यान अनि सन्तुलित आहारपछि कर्मक्षेत्रमा लाग्नाले उसको कार्यक्षमता र कार्यकुशलता प्रभावकारी हुन्छ। आजकल त मानिस राति अबेरसम्म बसी टिभी हेर्नु, समाचार सुन्नु, सिनेमा देख्नु वा कम्प्युटरमा बस्नु र बिहान अबेरसम्म सुत्नु अनि छिटोछिटो गाँस टिपेर, गाडी चढेर कर्म क्षेत्रतर्फ प्रस्थान गर्नुलाई धनाढ्यको संज्ञा दिने गर्छन्। यो असहज जिउने तरिकाले उसको स्वास्थ्यमा र मानसिकरूपमा पार्ने असरको ख्याल गरेको हँुदैन। सबै भन्दा उत्कृष्ट आफ्नो स्वास्थ्य नै नभइकन प्राप्त गरेको धन सम्पत्ति, नाम, इज्जत, प्रतिष्ठा केका लागि भन्ने जानकारी नभएका विवेकशील मानिसको खाँचो छैन आजकल। आजको नागरिक दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार