तीन सातादेखि उडान ठप्प

शुक्रबार, ०७ असार २०८१
ताप्लेजुङ / सुकेटार विमानस्थलबाट तीन साता अघि देखी उडान ठप्प भएको छ । प्रतिकूल मौसमका कारण एक मात्र नेपाल वायु सेवा निगमको उडान ठप्प भएको हो ।बर्खा मौसम सुरु भएसँगै सुकेटार विमानस्थलमा हवाई उडान अवरुद्ध बनेको हो । सदरमुकाम फुङ्लिङस्थित नेपाल वायु सेवा निगमको स्टेसन कार्यालयका अनुसार मौसम प्रतिकूलताकै कारण उडान ठप्प भएको छ । स्टेसन इन्चार्ज नारायणकुमार कार्कीका अनुसार गत जेठ ११ गते शुक्रवारदेखि सुकेटार विमानस्थलमा उडान बन्द भएको छ । जेठ दोस्रो सातापछि प्रायः मौसम नखुलेको अर्थात् बाक्लो हुस्सु र कुहिरो लाग्न थालेकाले उडान हुन नसकेको स्टेसन इन्चार्ज कार्कीले बताए । पछिल्लो डेढ सातायता भने दिनहुँ जसो वर्षा भइरहेकाले झनै उडान सञ्चालन हुने स्थिति नरहेको स्टेसन कार्यालयले जनाएको छ । यता उडान ठप्प हुँदा सेवाग्राही सेवा उपभोग गर्नबाट वञ्चित भएका छन् । उडान नहुँदा ताप्लेजुङ भ्रमणमा आउने आन्तरिक तथा बाह्य पर्यटक साथै अन्य सेवाग्राहीले हवाई सेवा लिन पाएका छैनन् । अब मौसममा सुधार नआएसम्म उडान अनिश्चित रहेको पनि नेपाल वायु सेवा निगमको स्टेसन कार्यालयले जनाएको छ । नेपाल वायु सेवा निगमको ट्विनअटर जहाजले हप्ताको एक दिन बुधवार काठमाडौँ–ताप्लेजुङ–काठमाडौँ उडान भर्दै आएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार