खुट्टाले लेखेरै ३.३७ जिपिए 

आइतबार, १६ असार २०८१
गुल्मी : गुल्मीको छत्रकोट गाउँपालिका– ४ का १९ वर्षीय ऋषिराम कँडेलले खुट्टाले लेखेरै एसइई परीक्षामा ३.३७ जिपिए प्राप्त गरेका छन् । शृंगा जनता माविमा अध्ययनरत उनले रुरु क्षेत्र गाउँपालिकाको जनबोध मावि परीक्षा केन्द्रबाट परीक्षा दिएका थिए । उनलाई छुट्टै कोठामा कार्पेट र कुसनमा बसेर परीक्षा दिने व्यवस्था मिलाइएको थियो ।
ऋषिराम जन्मजात अपांगता भएका व्यक्ति हुन् । उनको दाहिने खुट्टाको दुई औँलाबाहेक अरू चल्दैनन् । तर, त्यही दुई औँलाले दिएको परीक्षाको नतिजाले उनी उत्साहित छन् । कँडेलले कक्षा ११ मा साइन्स पढ्ने इच्छा रहेको बताए । ‘नतिजा अपेक्षाअनुसारकै आएकाले उत्साहित छु । सकेसम्म व्यवस्थापनको हिसाबले गाउँकै नजिकको कलेज जान्छु,’ उनले भने, ‘कक्षा ११ र १२ साइन्स पढ्ने योजना बनाएको छु ।’ कँडेलको नजिक जनबोध मावि छ । उनले सोही विद्यालयबाट एसइई दिएका थिए । जनबोध माविमा पढ्न पाए घरबाटै बुबालाई आउजाउ गराउन सजिलो हुने उनको भनाइ छ । उनले अनुत्तीर्ण साथीहरूलाई निराश नहुन आग्रह गरे । हार स्वाभाविक भएकाले हार खान नहुने उनको तर्क छ । ‘आफूभित्रको आत्मबल नै सबैभन्दा ठूलो कुरा हो । मैले शारीरिक अप्ठ्यारोमा पनि जीवनदेखि कहिल्यै हार खाएको छैन,’ उनले भने, ‘लडे पनि आफूलाई चिनेर विश्वासका साथ उठ्न सक्नुपर्छ ।’ ऋषिरामका हात–खुट्टा कमजोर छन् । तर, बौद्धिक क्षमता सबलांगको भन्दा उत्कृष्ट छ । दुई औँलाले लेख्छन्, तस्बिर कोर्छन्, मोबाइल तथा ल्यापटप चलाउँछन् । उनी अपांगता भएकाको मात्र उदाहरणीय पात्र होइनन् । सपांग व्यक्तिका मार्गदर्शक पनि हुन् । उनले कक्षा चारसम्म घरनजिकैको शारदा माविमा पढे । त्यसपछि शृंगा जनता माविमा पढ्दै आएका थिए । ऋषिराम ‘क’ वर्गको अपांगता भएका हुन् । उनी अरूको सहाराविना केही गर्न सक्दैनन् । तर, घरपरिवार, समुदाय र विद्यालयसम्म आफूलाई कहिल्यै फरक र कमजोर अनुभूति गरेनन् । बुबा लक्ष्मण कँडेलले ऋषिरामलाई बिहान ठीक १० बजे स्कुल पु¥याउँथे । अब पनि छोराले पढ्न चाहेको विषय र वातावरण बनाउन आफू तयार रहेको उनले बताए । साइन्स नै लिएर पढ्ने चाहना बाबुको भएकाले विद्यालय कहाँ भन्ने यकिन नगरिएको उनले बताए । आजको नया पत्रिका दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार