विराटनगर । विराटनगरमा व्यापारीलाई धम्क्याएर पैसा उठाउने नेपाल प्रहरीका पूर्वइन्सपेक्टर (पूर्वप्रहरी निरीक्षक) गणेशमान श्रेष्ठ पक्राउ परेका छन् ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार विराटनगर महानगरपालिका–८ घर भएका ५८ वर्षीय श्रेष्ठ सोमबार साँझ ५ बजेतिर पक्राउ परेका हुन् । आफू ब्युरोको प्रहरी भएको बताउँदै धम्क्याएर व्यापारीसँग पैसा उठाउने क्रममा श्रेष्ठलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका थिए ।
आफू ब्युरोको प्रहरी भएको बताउँदै श्रेष्ठ विराटनगर–६ स्थित व्यापारी राजकुमार भगतको पसलमा छापा हान्न भनेर पुगेको पाइएको बस्नेतले बताए । श्रेष्ठले आफू प्रहरी हुँदाको पुरानो परिचयपत्र देखाएर डर त्रास देखाई व्यापारी भगतसँग १० हजार रूपैयाँ लिएको पाइएको हो ।
प्रहरीका अनुसार आफ्नो गोदाममा छापा हान्न प्रहरी आएको ठानेर भगतले १० हजार रूपैयाँ पैसा पूर्वइन्सपेक्टर श्रेष्ठलाई दिएका थिए । व्यापारीसँग पैसा लिएको थाहा पाएपछि स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका हुन् । श्रेष्ठले व्यापारीसँग लिएको रकम बरामद गरिएको र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको डीएसपी बस्नेतले बताए ।
प्रतिक्रिया