इटहरीमा सुविधा सम्पन्न अस्पताल अभावले बिरामीलाई सास्ती, १५ बेडको अस्पताल थप हुँदै

शुक्रबार, ०४ साउन २०८१
नवीन दाहाल इटहरी : कोशी प्रदेशको केन्द्रविन्दु हो, इटहरी । आफूलाई विकसित सहरका रूपमा दाबी गरिरहेको इटहरीमा सुविधा सम्पन्न अस्पताल नहुँदा दैनिकजसो दर्जनौँ बिरामीहरूले सास्ती खेप्दै आएका छन् । खासगरी स्थानीय, प्रदेश र प्रतिनिधिसभाको निर्वाचनताका हरेक दलहरूले इटहरीमा सुविधा सम्पन्न अस्पताल बनाउने र स्वास्थ्यको विषयमा गम्भीर रहेको मुद्दा उठाएपनि त्यो चुनावी नारामा मात्रै सीमित हुँदै आएको छ । इटहरीले राम्रो अस्पताल नपाउँदा दैनिकजसो यहाँका बिरामीहरू धरान र विराटनगर धाउनुपर्ने बाध्यता अन्त्य हुन सकेको छैन । राज्यले हरेकपटक बजेट भाषणमा स्वास्थ्यलाई धेरै बजेट छुट्याएको दाबी गरिरहेपनि त्यो ‘भाषण’मै मात्र सीमित हुँदै आएको विद्यमान अवस्था छ । यसैबीच इटहरीमा १५ बेडको अस्पताल थप हुने भएको छ । इटहरी ४ स्थित श्री कृष्ण प्रणामी मन्दिर नजिक १५ बेडको अस्पताल थप हुन लागेको हो । श्री कृष्ण प्रणामी प्रतिष्ठान नेपालले अस्पताल निर्माणको कार्य सुरु गरेसँगै आगामी चैतसम्ममा अस्पताल निर्माण सम्पन्न हुने जनाइएको छ । समुदायस्तरबाट आर्थिक स्रोत जुटाएर अस्पताल निर्माण भइरहेको प्रतिष्ठानका अध्यक्ष हेमप्रसाद घिमिरेले बताए । सहयोगीहरूमार्फत आर्थिक संकलन गरी अस्पताल निर्माण भइरहेको उनले जनाए । ‘हालसम्म अढाइदेखि तीन करोड रुपैयाँ खर्च भइसकेको छ । यसमा प्रदेश सरकारले ४५ लाख र इटहरी उपमहानगरले दुई चरणमा गरी ३० लाख रुपैयाँ दिएको छ,’ घिमिरेले भने, ‘बाँकी रकम समुदाय र सहयोगीसँग संकलन गरिरहेका छौँ ।’ उनले उक्त अस्पताल व्यावसायिक मुनाफाका लागि नभई सेवामूलक हिसाबमा सञ्चालन गर्ने उदेश्य लिएको बताए । ‘अहिले समितिले काम गरिरहेको छ । आर्थिक पारदर्शीताका कुरा त्यही समितिले हेरिराखेको छ,’ घिमिरे भन्छन्, ‘अस्पताल निर्माण भइसकेपछि अर्को समिति गठन हुने र त्यही समितिले अस्पताल सञ्चालन गर्नेछ । यो व्यावसायिक अस्पताल नभई सेवामूलक हुनेछ भन्ने हाम्रो विश्वास छ ।’ [caption id="attachment_55752" align="alignnone" width="1600"] निर्माणाधीन अस्पताल ।[/caption] उनले उक्त अस्पताल निर्माण भइसेकपछि थप अनुदान प्राप्त भएमा अर्को ठूलो अस्पताल निर्माण सुरु गरिने जनाए । उनका अनुसार हाल प्रणामी मन्दिरकै कम्पाउण्डमा रहेको १० हजार ‘स्क्वायरफुट’ जमिनमा अस्पताल निर्माण भइरहेको छ । इटहरीलाई पाँच सय बेडको अस्पताल आवश्यक पर्ने र अहिले रहेका निजी अस्पतालहरूले यहाँका बिरामी धान्नै नसक्ने उनले जनाए । हाल निर्माण भइरहेको अस्पताल दुई वर्षअघि नै शिलान्यास भएपनि विभिन्न प्रक्रियाका कारण अझै सम्पन्न भइनसकेपनि आगामी चैतसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको घिमिरेले बताए ।

‘इटहरीका निजी अस्पतालले धान्नै सक्दैनन् बिरामी’

उपमहानगरको मातहतमा रहेको इटहरी अस्पतालमा धेरै भीड हुने र पर्याप्त सुविधा नहुँदासमेत समस्या हुँदै आएको छ । त्यसो त स्वास्थ्य बीमाका कारण पनि उक्त अस्पतालमा भीड बढिरहेको पाइन्छ । अहिले चालू रहेको अस्पतालले इटहरीका बिरामीको नै भीड थाम्न सकिरहेको हुँदैन । खासगरी इमर्जेन्सी बिरामीहरूलाई हतारहतार गरी धरान र विराटनगर कुदाउनुपर्ने बाध्यता ज्युँ का त्यु छ । इटहरी ५ का गोविन्द श्रेष्ठले यहाँ सुविधा सम्पन्न अस्पताल नहुँदा सास्ती खेप्नुपरेको दुखेसो गरे । ‘यहाँ दुर्घटना भएमा सामान्य घाइतेलाई पनि तत्कालै धरान नभए विराटनगर कुदाइहाल्नुपर्ने अवस्था छ,’ उनले भने, ‘दुर्घटनाका घाइतेलाई इटहरी अस्पतालमा उपचार गर्न लगेको मैले आजसम्म सुनेको छैन ।’ इटहरीमा सरकारीस्तरको नभए निजी लगानीबाटै भएपनि सुविधा सम्पन्न अस्पताल आवश्यक रहेको उनले बताए । दुर्घटनामात्र होइन, स्वास्थ्यमा गम्भीर समस्या आएमा इटहरीबासी धरान र विराटनगर धाउनु पर्ने बाध्यता रहेको स्थानीय उमादेवी निरौला बताउँछिन् । इटहरी अस्पतालमा सामान्य प्रकृतिका समस्याको मात्रै उपचार हुने र विशेषज्ञको सेवा उपलब्ध नहुँदा समस्या रहेको उनले सुनाइन् । ‘यहाँका थोरै निजी अस्पताल र क्लिनिकहरूले विराटनगर र धरानका डाक्टरहरू निश्चित दिनमा मात्रै सेवा दिइरहेका छन्,’ उनले भने, ‘निश्चित दिनको सेवाका कारण इटहरीबाट बिरामीहरू विराटनगरका महंगो अस्पतालमा जान बाध्य छन् ।’ यहाँ रहेका निजी अस्पतालहरू सर्वसाधारणका लागि पर्याप्त नभएको उनको भनाइ छ । यहाँको जनघनत्व दिनानुदिन बढिरहेको र आफूलाई महानगरका रूपमा दाबी गर्ने इटहरीले एउटा अस्पतालसमेत नपाउनु गम्भीर विषय रहेको जानकारहरू बताउँछन् । खासगरी पहाडी क्षेत्रबाटसमेत आएका बिरामीहरू विराटनगर नै पुग्नुपर्ने अवस्थाको अन्त्य गर्न इटहरीमा सुविधा सम्पन्न अस्पताल आवश्यक छ । तर, यसबारे सम्बन्धित निकाय भने मूकदर्शकजस्तै बन्दा इटहरीले अस्पताल पाउन सकेको छैन । यहाँ अस्पताल निर्माणका लागि सरकारी निकायसँगै निजी क्षेत्र र स्थानीयबासीको समेत सहयोग आवश्यक पर्ने भएपनि अस्पताल निर्माण गर्ने नेतृत्वकर्ताको अभाव भइरहेको जानकारहरू बताउँछन् ।

प्रतिक्रिया

नवीन दहाल
लेखकको बारेमा
नवीन दहाल

सम्बन्धित समाचार