सहकारीको रकम अपचलन गरी विदेश फरार अभियुक्त पक्राउ गर्न गृहले थाल्यो तयारी

मंगलबार, १५ साउन २०८१
संसदीय छानबिन विशेष समितिले सोमबार गृहमन्त्री, गृहसचिव र आइजिपीलगायतलाई बोलाएर सहकारीको रकम अपचलन गरी विदेश फरार रहेका १८ अभियुक्तको सूची नै बुझाएर तत्काल पक्राउ गर्न दिएको थियो निर्देशन
काठमाडाैं : सहकारीबाट हजारौँ बचतकर्ताको रकम अपचलन गरी विदेश फरार अभियुक्तहरूलाई पक्राउ गर्न गृह मन्त्रालयले आवश्यक तयारी सुरु गरेको छ । संसदीय छानबिन विशेष समितिले त्यस्ता १८ अभियुक्तलाई पक्राउ गर्न निर्देशन दिएपछि गृहले तयारी थालेको हो । समितिले सोमबार बैठक राखेर गृहमन्त्री रमेश लेखक, गृहसचिव एकनारायण अर्याल, आइजिपी वसन्तबहादुर कुँवर र डिआइजी जनक भट्टराईलाई उपस्थित गराई निर्देशन दिएको थियो । विदेशमा रहेका १८ अभियुक्तको सूची नै पेस गरेर समितिले उनीहरूलाई तत्काल पक्राउ गरी छानबिन समितिको सम्पर्कमा ल्याउन निर्देशन दिएको हो । गृहप्रवक्ता नारायणप्रसाद भट्टराईले संसदीय समितिको निर्देशनअनुसार तयारी थालिएको बताए । ‘सहकारीको रकम अपचलन गरी फरार भएका १८ प्रतिवादीलाई पक्राउ गरेर ल्याउन संसदीय छानबिन समितिले निर्देशन दिएको छ । निर्देशनअनुसार काम अघि बढाउन गृहले तयारी थालेको छ,’ उनले भने । संसदीय छानबिन विशेष समितिका सभापति सूर्य थापाले विदेशबाट ल्याउनुपर्ने अभियुक्तको सूची नै बैठकमा पेस गरेका थिए । जसमा सूर्यदर्शन सहकारीका जिबी राई, ज्ञानबहादुर बमजन, भूपेन्द्र राई र थानबहादुर बुढामगर छन् । जिबी र बमजन अमेरिकामा रहेको सूचना रहेको भन्दै समितिले जानकारी गराएको छ । सूर्यदर्शनमा मात्रै १८ हजार सात सय बचतकर्ताको एक अर्ब ११ करोड ५३ लाख रुपैयाँ डुबेको छ । त्यस्तै, सुमेरू सहकारीका भरत महर्जन, राजमाया महर्जन, सचिन महर्जन, सरला महर्जन फरार रहेको भन्दै पक्राउ गरेर ल्याउन समितिले निर्देशन दिएको छ । समितिलाई प्राप्त सूचनाअनुसार उनीहरू सबै बेलायतमा छन् । उनीहरूले सुमेरूका ३७ हजार बचतकर्ताको १० अर्ब ३४ करोड सात लाख ३९ हजार रुपैयाँ अपचलन गरेका छन् । शिव शिखर सहकारीका तेजबहादुर बमजन र लीलानाथ गौतम पनि क्रमशः बेलायत र भारतमा लुकेको सूचना समितिलाई छ । उनीहरूले ३२ हजार ६१२ बचतकर्ताको नौ अर्ब ४९ करोड २२ लाख ८९६ रुपैयाँ डुबाएका छन् । संसदीय छानबिन समितिले पक्राउ गर्न भनेका इमेज बचत सहकारीका देवकुमार नेपाली, छेदा नेपाली र दीपक पौडेल पनि भारतमै लुकेर बसेको बताइएको छ । उनीहरूले एक हजार ४८१ बचतकर्ताको तीन अर्ब रुपैयाँ अपचलन गरेका छन् । त्यस्तै, सानोपाइला सहकारीका तस्बिरन खातुन, असरफ अली, सहारा सहकारीका सुवास केसी, मेघा ड्रिम सहकारीका महाशंकर रेग्मी र कान्तिपुर कोअपरेटिभका प्रेमध्वज लामा पनि भारतमै लुकेर बसेको सूचना छ । सानोपाइलाले आठ सय बचतकर्ताको तीन करोड ३४ लाख ७४ हजार १५४, सहाराले आठ हजार बचतकर्ताको ११ करोड ७१ लाख र कान्तिपुरले ६ हजार १८५ बचतकर्ताको ६ अर्ब ७८ करोड ५१ लाख पाँच हजार ४५४ रुपैयाँ अपचलन गरेका छन् । संसदीय समितिको निर्देशनपछि गृहमन्त्री लेखकले समितिबाट विधिवत् रूपमा आएको अपेक्षा र निर्देशनलाई सरकारले कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए । ‘समितिलाई कार्यसम्पादनमा सरकारले सम्पूर्ण रूपमा सघाउने, बचतकर्ताको बचत दुरुपयोग रोक्ने, फिर्ता पाउने अवस्था सिर्जना गर्ने र पीडितहरूले न्याय पाउने अवस्थामा केन्द्रित भइदिने सुझावलाई सरकारले कार्यान्वयन गर्न कुनै कसर बाँकी राख्नेछैन,’ उनले भने । आइडियल यमुना सहकारी ठगीमा संलग्नविरुद्ध अदालतमा मुद्दा दर्ता  आइडियल यमुना हाम्रो सहकारी संस्थाको रकम अपचलन गर्ने धन्दामा संलग्न नौ अभियुक्तविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको छ । उक्त सहकारीका अध्यक्ष केबी उप्रेती, हाम्रो सगरमाथा बहुउद्देश्यीय सकारीका तत्कालीन उपाध्यक्ष शिवप्रसाद कट्टेल, तत्कालीन कोषाध्यक्ष मुकुन्दप्रसाद पाण्डे, सदस्य बद्री महत, प्रकाशमान शाही, अरुण भण्डारी, विष्णुबहादुर रिमाल, राजु पौडेल र विश्वम्भर रिमालविरुद्ध मुद्दा दर्ता भएको हो । उनीहरूविरुद्ध १५ करोड ७७ लाख दुई हजार ४० रुपैयाँ बिगो दाबी गरिएको छ । सबैविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा २४९ को ठगी गर्न नहुने कसुरअन्तर्गत सात वर्ष कैद सजायको मागदाबी गरिएको छ । घटनाको छानबिन जिल्ला प्रहरी परिसर काठमाडौंले गरेको थियो । यस चरणको अनुसन्धानमा परिसरले हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारीबाट अपचलन भएको रकमको सम्बन्धमा मात्रै अनुसन्धान गरेको थियो । २०३ बचतकर्ताले जाहेरी दिएका थिए । पछि उक्त सहकारी आइडियल यमुना हाम्रो सहकारीको नाममा मर्ज भएको थियो । मर्जपछि आइडियल यमुनाले मात्रै दुई हजार बचतकर्ताको आठ अर्ब रुपैयाँ हिमामिना गरेको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको भनाइ छ । जसको अनुसन्धान प्रहरीले गर्दै छ । उक्त सहकारीको सञ्चालक समितिमा उप्रेतीसहित मनोजकुमार थापामागर, कुयाङ छुयाङ दोर्जे लामा, प्रजुलकुमार गुरुङ, प्रकाशमान शाही, श्रवणकुमार राई, हस्त रावत, मोहितकुमार तामाङ, गोपीनाथ घिमिरे, कुमारसिंह घिसिङ, बद्री महत, रामप्रसाद श्रेष्ठ छन् । आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार