इटहरीको मुख्य चौकमा ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु

शुक्रबार, १८ साउन २०८१
इटहरी : इटहरीको मुख्य चौकमा ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । शुक्रबार दिउँसो १ः१० बजेतिर इटहरीको मुख्य चौकमा ट्रकले ठक्कर दिँदा एक साइकलयात्रीको मृत्यु भएको हो । इटहरी ६ स्थित विराटनगर जाने मोडमा साइकलयात्रीलाई प्रदेश १–०२–००१ ख ९२९४ नम्बरको ट्रकले ठक्कर दिएको इटहरी प्रहरीले जनाएको छ । मृतक व्यक्ति अन्दाजी ४० वर्षका पुरुष हुन् । इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर कार्कीका अनुसार मृतक व्यक्तिको पहिचान भइसकेको छैन । प्रत्यक्षदर्शीका अनुसार पूर्वबाट जाँदै गरेको साइकललाई सोही दिशाबाट जाँदै गरेको ट्रकले पछाडिबाट ठक्कर दिएको थियो । ‘हामीले भर्खरै घटनास्थलबाट उठाएर अस्पताल पठाएका छौँ,’ उनले भने, ‘ट्रक र चालक नियन्त्रणमा लिइएको छ । घटनाबारे प्रारम्भिक अनुसन्धान शुरु गरेका छौँ ।’ इटहरी उपमहानगरभन्दा अगाडिपट्टी विराटनगर मोडिने बाटोमा दुर्घटना भएको प्रहरीको भनाइ छ । ‘विराटनगरतिर छुट्टिने बाटोमा साइकल जाँदै गरेको र ट्रक पनि सोही दिशामा जाँदै गर्दा ठक्कर दिएको हो,’ उनले भने । प्रहरीले घटनास्थलको सीसीटीभी फुटेज मगाएर हेर्ने र त्यसपछि घटनाको वास्तविकता पत्ता लगाउने तयारी गरेको छ । प्रहरीका अनुसार मृतक व्यक्तिलाई प्रहरीले धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएर घटनाबारे आवश्यक अनुसन्धान शुरु गरेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार