इटहरी १४ मा रहेको श्री शान्ति सिर्जना माध्यमिक विद्यालयका प्रधानाध्यापक कमल तिम्सिनाले राज्यको ८० लाख रुपैयाँ बजेट ‘घोटाला’ गरेको घटना प्रदेश खबरले पहिलोपटक सार्वजनिक गरेको थियो ।
समाचार बाहिरिएसँगै अहिले ती प्रधानाध्यापक छटपटीमा परेका छन् । इटहरी उपमहानगरपालिकाबाट तलव शीर्षकमा जानुपर्नेभन्दा ८० लाख बढी रकम विद्यालयको खातामा गएपनि प्रधानाध्यापकले उपमहानगरलाई कुनै जानकारी गराएनन् । न फिर्ता नै गरे । बरु उक्त रकम उल्टै ‘घोटाला’ गरे । रकम ‘घोटाला’ भएको २२ महिनापछि मात्रै थाहा भएपछि अहिले प्रधानाध्यापक तिम्सिना कसरी पैसा फिर्ता गर्ने भन्नेबारे छटपटीमा परेका हुन् ।
आर्थिक वर्ष ०७९।८० मा शिक्षकको तलव शीर्षकको बजेटमा उपमहानगरले श्री शान्ति सिर्जना माध्यमिक विद्यालयलाई सात लाख ३६ हजार ६६३ रुपैयाँ उपलब्ध गराउनुपर्ने थियो । उपमहानगरले आफ्नो त्रुटिका कारण उक्त रकम विद्यालयको खातामा गएको प्रष्टीकरण दिदैँ आएको छ । विद्यालयलाई उपमहानगरले ८८ लाख २४ हजार २४३ रुपैयाँ भुक्तानी दिएपनि प्रअ तिम्सिनाले जानकारी नगराउनुले उनको नियतमाथि नै प्रश्न उब्जिएको छ ।
२०७९ सालको श्रावण, भाद्र असोज (चाडपर्व खर्चसमेतको) तलवभत्ता वापत उपमहानगरले सात लाख ३६ हजार ६६३ रुपैयाँ रकम उपलब्ध गराउनुपर्ने भएपनि ८० लाख ८७ हजार ५८० रुपैयाँ रकम बढी दिएसँगै २२ महिनासम्म उक्त रकमबारे न जानकारी, न फिर्ता नै भयो ।
संघीय सरकारको बजेटबाट विद्यालयको खाता २२२०१००००१३९६०१ नम्बरमा उक्त रकम जम्मा भएको थियो । संघीय सरकारको तलव बुझ्ने सातजना शिक्षकका लागि तीन महिनाको कूल ७ लाख ३६ हजार ६६३ रकम उपलब्ध गराउनुपर्ने भएपनि इटहरी उपमहानगरले भने ८० लाख बढी रकम उपलब्ध गराएपनि बढी रकम आएको प्रधानाध्यापक तिम्सिनाले जानकारी गराएनन् ।
घटना बाहिरिएसँगै प्रधानाध्यापक तिम्सिनामाथि छानबिन हुनुपर्ने माग उठ्न थालेको छ । प्रदेश खबरको खोजमा प्रअ तिम्सिनाले हालसम्म दुई किस्तामा १४ लाख रकम फिर्ता गराएको बुझिएको छ । तर, यतिका समयदेखि रकमबारे कुनै जानकारी नै नगराउनुले उनको ‘नियतमाथि नै खोट’ रहेको स्पष्ट बुझ्न सकिन्छ । र, उनले उक्त रकम आँफूले ‘हडपेको’ समेत आरोप लाग्दै आएको छ ।
त्यति मोटो रकम करिब दुई वर्षसम्म फिर्ता नगर्नु र जानकारी नै नगराउनले पनि उक्त रकम कहाँ गयो भन्ने बहस आम वृत्तमा चर्चा हुन थालेको छ । समाचार बाहिरिएसँगै अहिले यसबारे आम मानिसले चासो राख्न थालेका छन् । त्यसो त इटहरी उपमहानगरले पनि आँखा चिम्लेर उक्त रकम विद्यालयको खातामा पठाएकोजस्तोसमेत देखिन्छ ।
शिक्षा क्षेत्र सुधारमा लागेको दाबी गर्ने इटहरी उपमहानगर यो घटना बाहिरएसँगै के गर्ने भन्नेबारे आफैँ अन्योलमासमेत छ ।
यस घटनामा प्रधानाध्यापक तिम्सिना एक्लैले उक्त रकम ‘घोटाला’ गरे वा अरू कसैको मिलेमतो पनि छ ? वा, उनी अरू कोही व्यक्तिसँगको प्रलोभनमा परी सो रकम ‘घोटाला’ गरे भन्ने छानबिनको विषय बाँकी नै छ । प्रअ तिम्सिनाले राज्यको यतिका रकम घोटाला गरेको झण्डै एक महिना हुन लाग्दासमेत सम्बन्धित निकाय भने तैँ चुप, मै चुपको अवस्थामा पुग्नुको कारण के हो ? के सम्बन्धित निकाय यसरी मूकदर्शक हुन मिल्छ ? विद्यालयको हितमा चासो राख्ने आम मानिसहरूले अहिले यो प्रश्नसमेत गर्न थालेका छन् ।
तसर्थ, सम्बन्धित निकायले प्रअ तिम्सिनामाथि अविलम्ब निष्पक्ष छानिबन गरी दोषीउपर कारबाही गर्न आवश्यक देखिन्छ ।
यो पनि - एक्सक्लुसिभ : इटहरी उपमहानगरको लापरबाही र विद्यालयका प्रधानाध्यापकको ‘नियत’का कारण ८० लाख रकम ‘घोटाला’
प्रतिक्रिया