इटहरी : इटहरी १४ स्थित श्री शान्ति सिर्जना माध्यमिक विद्यालयका प्रधानाध्यापक कमल तिम्सिनाले उपमहानगरबाट गएको ८० लाख रुपैयाँ ‘कीर्ते हस्ताक्षर’ गरी एक्लै ‘झ्वाम’ पारेको खुलासा भएको छ ।
पहिलोपटक प्रदेशखबरले प्रअ तिम्सिनाले ८० लाख रुपैयाँ ‘घोटाला’ गरेको समाचार सार्वजनिक गरेको थियो । समाचार सार्वजनिक भएसँगै शनिबार स्थानीय अभिभावक, विद्यालय व्यवस्थापन समितिसहित बसेको बैठकमा प्रअ तिम्सिना आँफूले नै ८० लाख रुपैयाँ चलाएको स्वीकार गरेका छन् ।
उनले आँफूबाट गल्ती भएको स्वीकार गर्दै बचाइदिनसमेत आग्रह गरे । ‘म बाट गल्ती भयो, मेरो पद र जागिर जोगाइदिनुहोस्’ भन्दै उनले शनिबारको बैठकमा हारगुहार गरेका छन् । बैठकमा व्यवस्थापन समिति र स्थानीय अभिभावकहरूसँग उनले भने, ‘यहाँहरूले अवसर दिनुप¥यो ।
यो अन्तिम अवसर हुन्छ । मैले अहिलेसम्म अवमूल्यन गरेँ, यो मेरो ठूलो भूल थियो । त्यो पापको परिणाम आज यो अवस्था आयो ।’ उनले अबदेखि भूल नहुने र हरेक काम व्यवस्थापन समितिसँग सोधेर गर्नेसमेत बताएका थिए । ‘यहाँहरूको गोडा छोएर भन्न चाहन्छु कि, यहाँहरूले मलाई क्षमा याचना दिनुहुनेछ,’ उनले बैठकमा भनेका छन्, ‘अरू निर्णय केही नगरिदिनुहोस्, नगरबाट पनि छानबिन समिति बनेको छ ।’
खासगरी आर्थिक वर्ष ०७९।८० मा शिक्षकको तलव शीर्षकको बजेटमा उपमहानगरले श्री शान्ति सिर्जना माध्यमिक विद्यालयलाई सात लाख ३६ हजार ६६३ रुपैयाँ उपलब्ध गराउनुपर्ने थियो । तर, उपमहानगरका कर्मचारीको लापरबाहीका कारण विद्यालयको खातामा ८८ लाख २४ हजार २४३ रुपैयाँ भुक्तानी भयो । उक्त रकम भुक्तानी भएको करिब दुई वर्ष (२२ महिना)सम्म प्रअ तिम्सिनाले उपमहानगरमा कुनै जानकारी गराएनन् ।
केही महिनाअघि मात्रै आन्तरिक लेखा परीक्षणको कार्यालयले सो रकम बढी गएको देखाएपछि उपमहानगरले थाहा पाएको थियो । सोहीअनुसार उपमहानगरले असार २७ गते विद्यालयलाई रकम फिर्ता गर्न पत्र काटेको थियो । विद्यालयलाई पत्र काटेपनि विद्यालयमा प्रअ तिम्सिना बाहेक अरू कसैलाई थाहा भएन । बरु, समाचार बाहिरिएपछि भने विद्यालय व्यवस्थापन समिति र त्यहाँका शिक्षक, कर्मचारीलाई थाहा भएको बताइएको छ ।
विद्यालयका लेखा सहायक सन्तोष सरदारले भने आँफूलाई पैसा आएको र गएको केही पनि थाहा नभएको बताए । ‘म लेखा भएर पनि उपमहानगरबाट पैसा आएको, लगेको कुरा, कसरी कहाँ गयो भन्ने पनि थाहा भएन,’ उनले प्रदेश खबरसँग भने, ‘समाचार बाहिरिएपछि मात्रै मलाई थाहा भयो । अहिले पो कुरा बुझ्दा चकित हुने कुरा आयो । आफैँ अचम्मित छु ।’
आफूले हस्ताक्षर नै नगरी पैसा कसरी निस्कियो भन्ने घटना रहस्यमय भएको सरदारले बताए । यसरी हेर्दा प्रअ तिम्सिनाले नै ‘कीर्ते हस्ताक्षर गरी रकम अपचलन गरेको प्रष्ट हुने’ स्रोतको दाबी छ । तिम्सिनाको नियतमाथि नै प्रश्नसमेत उब्जिने गरेको स्थानीय अभिभावकहरूको भनाइ छ ।
प्रअ तिम्सिनाले उपमहानगरबाट गएको सो रकम के गरे भन्नेबारेसमेत गुपचुप राख्दा अभिभावकहरू आक्रोशित बनेका छन् । शनिबारको बैठकमा तिम्सिनाले आफ्नो गल्ती स्वीकार गरेपछि ८० लाख रकममा विद्यालयका कुनै कर्मचारी, शिक्षक, व्यवस्थापन समितिको संलग्नता नरहेको बताएका थिए ।
बैठकमा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी तथा सदस्यहरू, स्थानीय अभिभावकहरू, तथा बुद्धिजीवीहरूसहितको भेलाले निर्णयसमेत गरेको छ । माइन्यूटअनुसार आँफू स्वयम्ले रकम खर्च गरेको प्रअ तिम्सिनाले स्वीकार गरेका छन् । शिक्षक तथा कर्मचारीको तलव, विद्यार्थीहरूको खाजा, विद्यालयमा आवश्यक पर्ने फर्निचर खरिदलगायतमा खर्च भएको झुट विवरण पेस गरेपछि उपस्थितहरू आक्रोशितसमेत बनेका थिए ।
स्रोतका अनुसार आँफूमाथि कारबाही हुने भएपछि बचाइदिन भन्दै उनी शक्ति केन्द्र धाउन थालेका छन् । विद्यालयमा आएदेखि भएका सबै खालका खर्चहरूमाथि गम्भीर तरिकाले छानबिन हुनपर्ने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रम्तुल मियाँले बताए ।
‘हाम्रो कमिटि बनेको १६ महिना भयो । २२ महिनाअघि नै पैसा आएको रहेछ । तर, हाम्रो कमिटि आइकन पनि कुनै जानकारी भएको छैन,’ उनले भने, ‘प्रअले हालसम्म कुनैपनि निर्णय नगरीकन खर्च गरेका रहेछन् । त्यो पनि मिडियामार्फत नै थाहा भयो ।’
विद्यालय व्यवस्थापन समितिले प्रअ तिम्सिनालाई स्पष्टीकरण सोध्दा उनले स्वयम् जिम्मेवारी लिने बताएका छन् । प्रअको भनाइ उदृत गर्दै उनले भने, ‘यसको जिम्मेवारी म स्वयम् छु भन्नुभएको छ । यो ठूलो घोटाला हो । यसलाई व्यवस्थापन समितिले गम्भीर रूपमा लिएको छ ।’
अध्यक्ष मियाँले आँफूहरूलाई गुम्राहामा राखेर एकलौटी निर्णय गरेकाले उनीमाथि कडा कारबाही हुनुपर्ने माग गरे । विद्यालय व्यवस्थापन समितिका सदस्य वशिर मियाँले अब सोमबार इटहरीका मेयर हेमकर्ण पौडेल र शिक्षा शाखामा ज्ञापनपत्र बुझाएर तत्काल छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न माग राखिने बताए । ‘आज चैँ हाजिर भएछ । अबदेखि हाजिर नै नगर्नेगरी विद्यालय व्यवस्थापन समितिले निर्णय गर्नेछ,’ उनले भने, ‘यो घटनाले निष्कर्ष नपाउँदासम्म उहाँले हाजिर गर्न नपाउनेगरी हामी निर्णय गर्छौँ ।’
विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष भुटाही सरदारले आँफूहरूलाई कुनैपनि जानकारी नगराईकन रकम अपचलन गर्नु अनपेक्षित रहेको बताए । यसरी रकम आएको र खर्च भएको कसैलाई पनि थाहा नहुनुले विद्यालयका प्रअ तिम्सिनाको ‘नियत नै खराब भएको हुनसक्ने’ उनको भनाइ छ ।
यसैबीच आइतबार (आज) प्रअ तिम्सिनाले हाजिर गरिसकेपछि भने स्थानीयबासीले विद्यालय परिसरमा भेला भएर विरोध जनाएका छन् । विरोध जनाउँदै प्रअ तिम्सिनामाथि कालोमोसो दल्नेसमेत तयारी थियो । तर, प्रहरीको उपस्थितिले सम्भावित घटना भने हुन नपाएको स्रोतले जनाएको छ ।
‘इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक हेमन्त राईको नेतृत्वमा आएको टोलीले सम्भावित घटना हुन नदिन प्रअ तिम्सिनालाई कार्यालयबाटै निकालेर प्रहरीकै मोटरसाइकलमा राखेर लगेको छ,’ स्रोतले भन्यो, ‘सोमबारदेखि प्रअ तिम्सिनालाई विद्यालयमा हाजिर नै हुन नदिनका लागि चेतावनी दिइएको छ ।’
उपमहानगरले बनायो छानबिन समिति
यसैबीच इटहरी उपमहानगरपालिकाले भने तीन सदस्यीय छानबिन समिति बनाएको छ । लेखा अधिकृत लखन चौधरीको संयोजकत्वमा प्रशासन अधिकृत सञ्जीव खड्का र कानुन अधिकृत कमलराज पोखरेल सदस्य रहनेगरी उपमहानगरले छानबिन समिति बनाएको हो ।
छानबिन समिति संयोजक चौधरीले अहिले छानबिन भइरहेको प्रतिक्रिया दिए । ‘हामीले अहिले कागजपत्र अध्ययन गरिरहेका छौँ । शिक्षा शाखालाई पनि पत्रमार्फत कारण खुलाउन भनेका छौँ,’ उनले भने, ‘प्रअको विषयमा कागजपत्र अध्ययन भइरहेको छ ।’
उनले कति दिनभित्र छानबिन समितिको प्रतिवेदन आउँछ भन्नेबारे भने खुलाउन चाहेनन् । ‘छानबिनको कुरा बाहिर ननिकालौँ भन्ने हो । हामीले लिखित प्रतिवेदन बुझाइसकेपछि लिनुहोला ।’ उनले भने ।
भिडियोका लागि यहाँ क्लिक गर्नुहोस्यो पनि – सम्पादकीय : राज्यको पैसा ‘घोटाला’ गर्ने प्रधानाध्यापकमाथि निष्पक्ष छानबिन गरयो पनि – एक्सक्लुसिभ : इटहरी उपमहानगरको लापरबाही र विद्यालयका प्रधानाध्यापकको ‘नियत’का कारण ८० लाख रकम ‘घोटाला’
प्रतिक्रिया