३६ दिनदेखि बेपत्ता इटहरीका रामजी तिम्सिनाको अवस्था अझै अज्ञात, प्रहरी भन्छ – ‘खोजिरहेका छौँ’

शुक्रबार, २५ साउन २०८१
इटहरी : ३६ दिनदेखि बेपत्ता भएका इटहरी निवासी डा. रामजी तिम्सिनाको अवस्था अझै अज्ञात छ । गत असार १९ गतेदेखि बेपत्ता भएका तिम्सिनाको अवस्था अझै अज्ञात भएको हो । घरबाट ‘म बराहक्षेत्रमा जलसमाधि लिदैँछु । अलबिदा ।’ लेखेर बेपत्ता भएका तिम्सिना हालसम्म भेटिएका छैनन् । प्रहरीले भने हालसम्म पनि खोजी जारी राखेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक (एसपी) विपिन रेग्मीले हालसम्म पनि उनको खोजी भइरहेको जानकारी दिए । खोजी भइरहेपनि तिम्सिना फेला पर्न सकेका छैनन् । उनै तिम्सिनाले आँफू ‘जलसमाधि लिदैँछु’ भनेर सप्तकोसीमा गएको संकेत गरेसँगै प्रहरीले गोताखोर टोलीसहित सप्तकोसी र आसपासका क्षेत्रमा खोजी गरेपनि फेला पार्न नसकिएको एसपी रेग्मीले बताए । ‘उहाँलाई हालसम्म जीवित वा मृत केही फेला पार्न सकिएको छैन,’ उनले थपे, ‘एक साताअघि उहाँसँग मिल्दोजुल्दो शव फेला परेको छ । तर, परिवारले त्यो शव होइन भन्ने खालको आशय राखेका कारण परीक्षण भएको छैन ।’ उनका अनुसार गत मंगलबार सुनसरीको बराहक्षेत्र नगरपालिकामा पर्ने चक्रघट्टीमा एउटा शव फेला पारेको थियो । ‘तिम्सिनासँग मिल्दोजुल्दो शव फेला परेको भएपनि हालसम्म पोस्टमार्टम र डीएनए परीक्षण भएको छैन,’ एसपी रेग्मीले भने, ‘तिम्सिनाको टाउको र हात चैँ मिल्न सक्ने भएकाले अब डीएनए परीक्षणपछि मात्रै त्यो शव हो वा होइन भन्नेबारे खुल्छ ।’ उनका अनुसार अन्यत्रसमेत खोजी भइरहेको छ । तिम्सिना घरबाट ‘जलसमाधि लिदैँछु’ भनेर किन हिँडे भन्नेबारे थप अनुसन्धान जारी राखिएको रेग्मीको भनाइ छ । उनका अनुसार फेला परेको शव भने धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शव गृहमा राखेर अनुसन्धान भइरहेको छ । एक साताअघि तिम्सिनासँग मिल्दोजुल्दो किसिमको शव फेला परेपछि थप अनुसन्धान सुरु गरिएको प्रहरीको भनाइ छ । गत मंगलबार फेला परेको शव सडेको अवस्थामा रहेका कारण तत्काल पहिचान गर्नसमेत समस्या परेको प्रहरीले जनाएको छ । यता, तिम्सिनाकी श्रीमती मीरा पोखरेलले भने आफूहरूलेसमेत खोजी कार्य गरिरहेको बताइन् । ‘उहाँजस्तो मान्छेले त्यस्तो काम गर्नुहुन्छ जस्तो (जलसमाधि) लाग्दैन । तर, जलसमाधि लिदैँछु भनेको नोट र मोबाइलको लोकेशन बराहक्षेत्र देखाएका कारण केही शंका गर्ने ठाउँ पनि छ,’ उनले भनिन्, ‘हामीले खोज्नुपर्ने ठाउँमा खोजिरहेका छौँ । प्रहरीले पनि आफ्नो ठाउँबाट अनुसन्धान गरिरहेको छ ।’ गाउँघरमा कतिपय अफवाहसमेत फैलिएका कारण घरपरिवारभित्र तिम्सिनाको कुनै खटपट नरहेकोसमेत उनले प्रष्ट पारिन् । त्रिभुवन विश्वविद्यालयका सह–प्राध्यापकसमेत रहेका रामजी तिम्सिनाले ‘म बराहक्षेत्रमा जलसमाधि लिदैँछु । अलबिदा । ‘मिति २०८१।०३।१९ बुधबार बिहान ४ः१८ बजे’ लेखेर त्यसदिनदेखि बेपत्ता छन् । तिम्सिना धरानस्थित महेन्द्र बहुमुखी क्याम्पस र इटहरीको कोसी कलेजमा अध्यापन गर्थे । उनी खासगरी समालोचनामा रूचि राख्छन् । साहित्य समालोचनामा रूचि राख्ने तिम्सिना कुशल ‘रिसर्चचर’ पनि हुन् । यता, तिम्सिना आफैँ संस्थापक सदस्य रहेको कोसी कलेजका प्रधानाध्यापक अनन्तराज सुवेदीले भने उनी बेपत्ता हुनुको खास कुनै कारण नरहेको बताए । ‘सरको सम्बन्ध सबैसँग राम्रो थियो । नराम्रो भन्ने त कसैसँग पनि थिएन,’ सुवेदीले भने, ‘उहाँ आफैँले सबैलाई हौसला दिएर पढ्नुपर्छ भन्नुहुन्थ्यो । शिक्षकहरूलाई पनि रिसर्च गर्नुपर्छ भनेर गाइड गर्नुहुन्थ्यो ।’ एक महिनायता तिम्सिना बेपत्ता आँफूहरू चिन्तित भएको उनले सुनाए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार