विपद्मा परी आजसम्म एक सय ८२ को मृत्यु

आइतबार, ०२ भदौ २०८१
काठमाडौँ : अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायत मनसुनजन्य विपद्मा परी आइतबार (आज) दिउँसोसम्म एक सय ८२ जनाको मृत्यु भएको छ । बाढी, पहिरोलगायत विपद्मा परी काठमाडौँ उपत्यकामा तीन, कोशी प्रदेशमा २७, मधेस प्रदेशमा आठ, बागमती प्रदेशमा ३२, गण्डकी प्रदेशमा ५५, लुम्बिनी प्रदेशमा ३६, कर्णाली प्रदेशमा १० र सुदूरपश्चिम प्रदेशमा ११ जना गरी एक सय ८२ जनाको मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए । उनकाअनुसार बाढीपहिरोका कारण काठमाडौँ उपत्यकामा ११, कोशी प्रदेशमा ३८, मधेस प्रदेशमा १२, बागमती प्रदेशमा २३, गण्डकी प्रदेशमा ४६, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा ५७ र सुदूरपश्चिम प्रदेशमा २८ जना गरी दुई सय ३३ जना घाइते भएका छन् । यसैगरी, काठमाडौँ उपत्यकामा २८, कोशी प्रदेशमा ४९, बागमती प्रदेशमा १२, गण्डकी प्रदेशमा १४, लुम्बिनी प्रदेशमा तीन, कर्णाली प्रदेशमा दुई र सुदूरपश्चिम प्रदेशमा पाँच जना गरी एक सय १३ जनाको उद्धार गरिएको प्रवक्ता कार्कीले बताए । उनले भने, “बाढीपहिरोमा परी कोशी प्रदेशमा तीन, मधेस प्रदेशमा एक, बागमती प्रदेशमा ४१, गण्डकी प्रदेशमा दुई, लुम्बिनी प्रदेशमा एक, कर्णाली प्रदेशमा एक र सुदूरपश्चिम प्रदेशमा एक जना गरी ५० जना वेपत्ता भएका छन् । बेपत्ताको खोजी कार्य जारी छ ।” बाढीका कारण आजसम्म तीन सय ८४ घर डुबानमा परेका छन् भने तीन सय २१ घर, एक सय ११ गोठ, ५१ पुल, चार विद्यालय र दुई सरकारी कार्यालयमा क्षति पुगेको प्रहरीले जनाएको छ । बाढीपहिरोमा परी सोही अवधिमा आठ सय ३८ पशुचौपाया मरेका छन् । यस्तै, चार हजार सात सय ८७ परिवार विस्थापित भएका प्रहरी प्रवक्ता कार्कीले बताए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार