पोखरा : सूर्यदर्शन सहकारी संस्था लिमिटेडका तत्कालीन सचिव अनुज नकर्मीलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको छ।
बुधबार कास्की जिल्ला अदालतका न्यायाधीश हरिप्रसाद कोइरालाको इजलासले उनलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो।
वीरगञ्ज १४, श्रीपुर स्थायी घर भइ हाल पोखरा १७, घारीपाटन बस्ने ४८ वर्षीय जनकर्मीलाई प्रहरी गत ३२ साउनमा काठमाडौंको दक्षिणकालीबाट पक्राउ गरेको थियो ।
सहकारीको रकम सहकारी ऐन, नियमावली तथा संस्थाको नियमविपरीत हिनामिना एवं अपचलन गरेर ठगीजन्य कसूरमा संलग्न उनी फरार थिए। उनलाई प्रहरीले गत २ भदौमा कास्की जिल्ला अदालतमा मुद्दाको अभियोगपत्र माग दाबी अनुसार सजायका लागि उपस्थित गराएको थियो।
सहकारीको १ अर्ब ११ करोड रुपैयाँ हिनामिना एवं अपचलन गरेको अभियोगमा उक्त मुद्दा कास्की जिल्ला अदालतमा विचाराधीन छ। सहकारीका संस्थापक अध्यक्ष जीबी राईसहित १९ जनालाई प्रतिवादी बनाइएको छ। तीमध्ये ६ जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सहकारीका उपाध्यक्ष कैलाशकुमार दर्लामी, कोषाध्यक्ष कुमार रम्तेल, पूर्वसञ्चालक सदस्य शिवबहादुर गुरुङ र भविश्वर अर्याल र सहकारीका सञ्चालक समिति सदस्य प्रमोद भट्टराई छन्। उनीहरू कास्की जिल्ला अदालतको आदेशले पुर्पक्षका लागि थुनामा गएका छन्।
संस्थापक अध्यक्ष जीबी राई, पूर्वअध्यक्षद्वय भूपेन्द्र राई र थानबहादुर बुढामगर, सचिव धीरजकुमार दास, लेखा अधिकृत सृष्टि मानन्धर, कर्जा अधिकृत बुद्धि गुरुङ, सदस्य हेमन्त अधिकारी, आइस्मा गुरुङ, कविता तामाङ, सागर केसी, ललिता तामाङ, दिनेश रोका र सुरज श्रेष्ठ अझै पनि फरार छन्।
प्रतिक्रिया