इटहरी उवासंघ पदाधिकारीको पदस्थापनमै विवाद

बुधबार, १७ फागुन २०७९
इटहरी । उद्योग वाणिज्य संघ इटहरीका नवनिर्वाचित पदाधिकारीहरुको शपथ ग्रहण गरेकै दिन नेकपा एमालेनिकट व्यवसायीले पदस्थापन कार्यक्रम बहिष्कार गरेका छन् । संघको विधानविपरीत नवनिर्वाचित अध्यक्षले संस्था चलाउन खोजेको भन्दै ८ जना सदस्यले विरोध गरेका हुन् । आफूहरुसँग् सल्लाह नगरी २१ वटा उपसमितिका संयोजकहरुलाई पदस्थापन गर्न लागिएको उनीहरुको भनाई छ । पदस्थापन बहिष्कारपछि पत्रकार सम्मेलन आयोजना गर्दै संघका अध्यक्षले आफू खुसी गर्न लागेको उनीहरुले आरोप लगाए । अध्यक्षले आफ्ना नजिकका व्यक्ति तथा निर्वाचनामा पराजित भएका व्यक्तिलाई जिम्मेवारी दिएको सदस्य ढुण्डीराज गुरागार्इंले आरोप लगाए । उनले अध्यक्षलाई उपसमिति तोक्ने अधिकार भएपनि समितिमा छलफल गरेर अघि बढ्नु पर्ने तर्क राखे । बाहिरका व्यवसायीलाई निर्वाचित सदस्यसँगै राखिनु अपमान भएको उनीहरुको ठहर छ । संस्थाको विधानको परिच्छेद ४ को दफा १५ मा ९ जना पदाधिकारी रहने सचिवालय समिति अध्यक्षको अध्यक्षतामा गठन हुनुपर्ने भनिए पनि अध्यक्षले स्वघोषणा गरेको उनीहरुको आरोप छ । सोही दफाको उपदफा ४ मा उपसमिति गठन गर्दा कार्यसमितिको बैठकबाट निर्णय गर्नुपर्ने व्यवस्था भए पनि अध्यक्षले स्वघोषणा गरेको, उद्योग सचिवमा पनि वाणिज्यकै सदस्यलाई चयन गरिएको भन्दै एमालेनिकट व्यवसायीहरू विरोधमा उत्रिन बाध्य भएको उनीहरुको भनाई छ । विरोधकै बीच संघका पदाधिकारीको पदस्थापन सम्पन्न भएको छ । संघकै भवनमा निर्वाचित अध्यक्ष र सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका लिए । निर्वाचन समितिले उनीहरुलाई प्रमाणपत्र प्रदान गरेको थियो ।  पदभार ग्रहणसँगै २१ वटा उपसमिति गठन गरेका नवनिर्वाचित अध्यक्ष जीवन पराजुलीले पदाधिकारीसमेत मनोनीत गरेका छन् । महासचिवमा विनोद पौडेल, उपाध्यक्षमा सविना कोइराला र विष्णुनारायण डाँगी, कोषाध्यक्षमा सन्नी चौधरी, सचिवमा सिनेट रिजाल चयन भएका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार