जुटले लगानीअनुसार मूल्य पाएन, किसानको आकर्षण घट्दै

विहीबार, १३ भदौ २०८१
बेलबारी : जुटले उचित मूल्य नपाउँदा यहाँका किसान चिन्तित बनेका छन्। पूर्वी तराई क्षेत्रमा वर्षौंदेखि नगदे बालीका रूपमा लगाउने गरिएको जुटखेतीले पछिल्लो समय किसानको लागत खर्च पनि उठ्न छाडेको छ। लगानीअनुसार मूल्य नपाउँदा जुटखेतीतर्फ आकर्षण घटेको धनपालथान गाउँपालिका–१ नोचाका किसान काशीनाथ चौधरीले बताए। “जुट उत्पादनमा लगानी धेरै लाग्छ।  लगानीअनुसारको बजार मूल्य नपाउँदा पुस्तौँदेखि गर्दै आएको जुटखेती छाड्दै गएका हौँ,” उनले भने। विगतमा तीनदेखि पाँच बिघासम्ममा जुटखेती गर्दै आएकामा यस वर्ष एक बिघा १० कठ्ठामा मात्र खेती गरेको चौधरीले बताए। तराईका अन्य खेतीभन्दा धेरै जुटखेती झन्झटिलो भएका कारण पनि आकर्षण घट्दै गएको किसान बताउँछन्। जुट सफाइ (धुने) गर्ने मजदुरलाई ४० मुठा धोएबापत ६ मुठा दिने चलन थियो। अहिले ४० मुठा धोएबापत १० मुठासम्म दिँदा पनि धुने मानिस भेट्न छाडिएको चौधरीको भनाइ छ। जहदा–७ का किसान राजनिश सिंहले उचित मूल्य नपाउँदा समय यसप्रति आकर्षण घट्दो रहेको बताए। तथ्यांकमा भने उत्पादन बढेको देखिन्छ। आर्थिक वर्ष २०७८/७९ मा मोरङमा सात हजार ३५१ मेट्रिक टन, आव २०७९/८० मा  सात हजार ४०९ मेट्रिक टन र आव २०८०/८१ मा सात हजार ७३१ मेट्रिक टन जुट उत्पादन भएको छ। कृषि ज्ञान केन्द्र विराटनगरका प्रमुख रामदेव सिंहका अनुसार मोरङमा पाँच हजार १२५ हेक्टर जुटखेती गरिएको थियो। आव २०७८/७९ मा प्रतिक्विन्टल ११ हजार रुपैयाँमा कारोबार भएको जुटको मूल्य घटेर आव २०७९/८० मा प्रतिक्विन्टल नौ हजार ५०० र हाल प्रतिक्विन्टल आठ हजार १५० मा कारोबार भइरहेको छ। कोशी प्रदेशमा ६ हजार ९०९ हेक्टर जमिनमा जुटखेती गरिन्छ। प्रदेशभित्र अन्य जिल्लाको तुलनामा झापा, मोरङ र सुनसरीमा जुटखेती बढी गर्ने गरिएको छ। ज्ञान केन्द्रका अनुसार मोरङका १७ पालिकामध्ये धनपाल, जहदा, ग्रामथान, कानेपोखरी गाउँपालिका र सुनवर्षी, रतुवामाई र रङ्गेली नगरपालिकामा जुटखेती गर्ने गरिएको छ। नेपालमा उत्पादित जुट सबै स्वदेशमै खपत हुन्छ। भारत र बांग्लादेशबाट पनि आयात हुने गरेको छ। नेपालमा उत्पादन हुने जुटलाई तीन वर्गमा विभाजन गरिएको छ। रातो खैरो रङको जुटलाई एक नम्बर, सेतो रङको जुटलाई दुई नम्बर र कालो रङको जुटलाई तीन नम्बरमा विभाजन गरिएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार