बिर्तामोड/ ब्यापारिक दृष्टिले पूर्व र पश्चिमलाई जोड्ने बिर्तामोड उद्योग बाणिज्य संघको उद्देश्यमा साथ दिए जुम्लाकी गंगादेवी राउत र ताप्लेजुङकी माया गुरूङले ।
जंगलको कालो सुनका रुपमा परिचित अलैंचीबाट बनाइएका दैनिक प्रयोजनका सामग्री लिएर गुरुङ ताप्लेजुङबाट झापा झर्दा जुम्लाकी राउत जुम्लाको अर्ग्यानिक उत्पादन खाद्य सामग्री लिएर बिर्तामोड आइन ।र व्यापार महोत्सवमा सहभागी भए ।
यसरी ताप्लेजुङ र जुम्लालाई ब्यापारसँग जोडेको महोत्सवमा झापाको भद्रपुरमा निर्माण गरिएका बाँसका सामग्री अनि धनकुटामा निर्माण गरिएको दारको ठेकीमा महोत्सवमा आउनेहरुको बेग्लै आकर्षण छ ।
देश–विदेशमा रुचाइएका यी स्वदेशी उत्पादनले धेरैको ध्यान आकर्षित गरेको छ । ‘कुहिएर खेर जाने अलैंचीको सरा ९पात० बाट पनि यति राम्रो सामान बन्दोरहेछ थाहै थिएन’ ताप्लेजुङमै लामो समय बिताएर झापा झरेकी सुनिता विमलीले भनिन् ‘यस्ता कामलाई सरकारले पनि प्रोत्साहन गर्नुपर्ने हो । जति सामग्री बन्छन्, प्रतिगोटा हिसाब गरेर अनुदान दिनुपर्ने हो ।’
आफूले निर्माण गरेका सामग्रीबारे अरुलाई जानकारी दिन पाउँदा छुट्टै लाग्ने उनी बताउँछिन् । स्वदेशमा भन्दा विदेशमा बढी मन पराउने उनको उत्पादनले मेलामा निकै राम्रो सुझाव पाएको बताउँछिन् । सामग्री बनाउने सीपका बारेमा बुझ्नेदेखि सौखका लागि खरिद गर्नेसम्मका अवलोकनकर्ता पाएको मायाले बताइन् ।
जुम्लाको पत्रासी गाउँपालिका स्थायी घर भएकी गंगादेवी १८ वर्षदेखि काठमाडौंमा व्यापार गर्छिन् । बिर्तामोड महोत्सवमा पहिलो पटक सहभागी भएकी गंगाले यो महोत्सवमा केही समयअघि विराटनगरमा सम्पन्न महोत्सवमा भाग लिएकी थिइन् ।
झापाको बजार नबुझेका कारण विराटनगरमा आयोजित मेलामा स्टक रहेको सामग्री मात्रै लिएर बिर्तामोड महोत्सवमा आएकी उनलाई बीचैमा सामान सकिएपछि अलमलमा परेको बताइन् ।
जुम्लाकी गंगाले ल्याएको स्याउको स्वाद चाखेपछि बिर्तामोडकी गंगा लुईटेलले जुम्ली स्याउको पारखी भएको बताइन् । ‘असाध्यै मिठो रहेछ’ उनले भनिन् ‘फुजीको स्याउभन्दा ५० रुपैयाँ महंगो पर्ला तर जुम्लाकै स्याउ खानु राम्रो लाग्यो मलाई ।’
महोत्सव स्थलमा भेटिएकी अजिशा लिम्बूले घरेलु मदिरा ९लोकल वाइन र रक्सी० तथा हस्तकलाका सामग्री बढी मन परेको बताइन् । महोत्सवस्थलमा पहिलो पटक पुगेकी भएको अजिशाले भनिन् ‘थारु समुदायको मौलिक खानाका परिकार, विभिन्न जात जातिका सांस्कृतिक कार्यक्रम राम्रो लाग्यो । अझ महिला दिदी बहिनीहरुले आफ्नै हातले सेल रोटी बनाएर बिक्री गरेको देख्दा र खाँदा बेग्लै आनन्द लाग्यो ।’
महोत्सवमा राखिएका स्टलमध्ये भद्रपुर –८ का निर्मल शाक्यको हस्तकलाको स्टलले धेरैको मन तानेको छ । खेर जाने बाँसका जराबाट शाक्यले कलात्मक बुट्टा भर्दै चराचुरुङ्गीदेखि विभिन्न देवी देवताको दुरुस्तै आकृति उतारेकाले अवलोकनकर्ता आकर्षित भएका हुन् । बाँसका जराबाट निर्मित सामग्रीमा दतार हात्तीको दाह्रादेखि बाज र डल्फिनसम्म दुरुस्तै छन् ।
महोत्सव अवलोकनका लागि आएकी पवित्रा लिम्बूले आफूले पहिलोपटक बाँसको जराबाट तयार पारिएको यस्तो सामग्री देखेको बताइन् । उनले भनिन् ‘हामी त बाँसका जरा बाल्थ्यौं तर यस्ता राम्रा सामग्री बन्दा रहेछन् ।’
शाक्यले बाँसको जराबाट मात्र होइन काठको प्रयोग गर्दै विभिन्न बस्तुको आकृति दुरुस्तै उतारेर महोत्सव स्थलमा राखेका छन् । कतिपयले कछुवा, डल्फिन, माछा जस्ता हस्तकालाका सामग्री लिएर जाने गरेका छन् भने कतिपयले बाज, गणेश, बाँदर जस्ता सामग्री लाने गरेका छन् ।
बाँसको जरासहित निम, टिक, गमारी, खमारीको काठ प्रयोग गर्दै शाक्यले बनाएका हस्तकलाका सामग्रीले धेरैको मन लोभ्याएको कनकाई नगरपालिका ८ निवासी शिशिर भट्टराईले बताए । उनले भने ‘बाँसको जराबाट बनाएका सामग्री जति हेयो उति राम्रा देखिन्छन् ।’
महोत्सव आयोजक संस्थाका अध्यक्ष प्रकाश शिवाकोटीले आर्थिक गतिविधि चलायमान बनाउन महोत्सव आयोजना गरिएको बताए । ‘व्यापार व्यवसाय नचलेर निराश भएका व्यापारीमा उत्साह जगाउने उद्देश्यले आयोजना गरिएको हो’ उनले भने, ‘मनोरञ्जनसंगै बजारलाई चलायमान गराउनु थियो । हामीले त्यो गरिरहेका छौं ।’
मेला संयोजक राजु न्यौपानेले महोत्सवमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यापारीहरु जोडिएको बताए । फागुन ५ गतेदेखि १८ गतेसम्म सञ्चालन हुने महोत्सवमा दुई सयभन्दा बढी व्यापारिक स्टल, खेल साथै सांगीतिक कार्यक्रम प्रस्तुति हुने गरेको छ ।
प्रतिक्रिया