विनोद चौधरी: यो पुलले नेपालको भूगोललाई मात्रै जोडेको छैन, यहाँका जनताको भावनालाई पनि जोडेको छ । अब यो क्षेत्र नयाँ पर्यटकीय गन्तव्यका रूपमा पनि उदाउने मेरो विश्वास छ ।बर्दघाट: निर्माण सम्झौता भएको झन्डै दश वर्षपछि सुस्तामा झोलुङ्गे पुल बनेको छ । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वडा नं। ५ मा नेपालकै लामो पुल बनेको हो । असोज १० गते राष्ट्रपति रामचन्द्र पौडेलले पुलको उद्घाटन गर्दैछन् ।
पुल निर्माणसँगै आफ्नै वडा कार्यालयमा जान पनि सुस्तावासी भारतको बाटो भएर जानुपर्ने बाध्यता हटेको हो । नारायणी नदिमा एक हजार पाँच सय ५८ मिटर लामो पुल निर्माण सम्पन्न भएपछि यहाँका बासिन्दा खुसी छन् । ‘यो पुल हाम्रा लागि लाइफलाइन हो, सुस्ताका रवीन्द्र जयसवालले भने, ’निर्माण ढिलो भएपनि विगतमा आफ्नै देशको भूमिभित्र जान पनि भारतको बाटो भएर जानुपर्ने बाध्यता थियो । अब बाध्यताबाट हामी मुक्त भएका छौँ ।’
२०७० सालमा सम्झौता भएको यो झोलुङ्गे पुल तीन वर्षभित्र निर्माण सम्पन्न भइसक्नुपर्ने थियो । साढे २३ करोडमा त्रिशूली आश्रय जेभी कन्स्ट्रक्सने निर्माणको ठेक्का पाएको यो पुल असारमा निर्माण सम्पन्न भएको हो ।
स्थानीय जयसवालका अनुसार २०७४ सालको दोस्रो संविधान सभा निर्वाचनबाट यही क्षेत्रबाट निर्वाचित सांसद देवकरण कलवारले पुलको काम अगाडि बढाउन निर्माण कम्पनीलाई दबाब दिनुका साथै सरकारसँग निरन्तर पहल गरेका थिए ।
पछिल्लो दुई वर्षयता पुल निर्माणको कामले गति लिएको हो । यस क्षेत्रबाट निर्वाचित सांसद विनोद चौधरीले पुल समयमै निर्माण सम्पन्न गर्न निर्माण कम्पनी र सरकारसँग निरन्तर समन्वय गर्दै आएका थिए । उनले सहरी विकास मन्त्रालयलाई आवश्यक बजेट निकासाका लागि पहल गर्नुका साथै निर्माण कम्पनीलाई समयमै काम सम्पन्न गर्न ताकेता गरेका थिए ।
सांसद चौधरीले सुस्ता पुलले नेपाली भूमि जोड्ने काम गर्नुका यहाँका नागरिकको दैनिकीमा पनि ठुलो प्रभाव पार्ने बताए । ‘आफ्नै भूमिभित्र जान पनि अर्को देशको बाटो भएर जानुपर्ने बाध्यताको अब अन्त्य भएको छ । यो अत्यन्तै पीडादायी अवस्था थियो नवलपरासी सुस्ताको,’ उनले भने, ‘लामो समयसम्म पुल निर्माण कार्य सम्पन्न भएन ।
ढिलै भएपनि पुल निर्माण सम्पन्न भएको छ । अब यसले यो क्षेत्रका नागरिकको जीवनमा त खुसी ल्याउँछ नै, यो क्षेत्रकै आकर्षक पर्यटकीय गन्तव्य बन्नेछ ।’ उनले यो पुलले सुस्ताको भूगोल मात्रै नजाडी यहाँका नागरिकको भावनालाई पनि जोडेको बताए ।
नारायणी नदिमा पुल बनेपछि सुस्तापारी पहिलो पटक बिजुली पुगेको छ । करिब ३५० घरधुरी रहेको सुस्तापारी पुलकै बाटो भएर बिजुली लगिएको हो । झोलुङ्गे पुलको भार व्यवस्थापन र विद्युतीय सुरक्षाको मापदण्ड पूर्ण रूपमा पालना हुने गरी दायाँ–बायाँबाट ११ केभी लाइन निर्माण गरी सुस्तामा विद्युत् पु¥याइएको हो ।
सांसद चौधरीले निर्वाचित भए लगत्तै विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङसँग सुस्तामा विद्यतुीकरणका लागि पहल गरेका थिए । यसैबिच सांसद चौधरीले सुस्तापारिका बासिन्दालाई सहुलियतमा बिजुली उपलब्ध गराउन सरकारसँग पहल सुरु गरेका छन् ।
उनले ऊर्जा मन्त्रालय र विद्युत् प्राधिकरणलाई लिखित पत्र पठाउँदै सहुलियतको बिजुलीका लागि आग्रह गरेका हुन् ।
‘हाम्रो पहिलो प्राथमिकतामा सुस्तालाई पुलले जोड्ने र त्यही पुलबाट बिजुली लैजाने प्रबन्ध गर्ने थियो । यो दुवै काम एकै पटक सम्पन्न भएको छ ।
अब सरकारले यहाँका नागरिकलाई सहुलियतको बिजुली उपलब्ध गराउनुपर्छ, त्यसका लागि हाम्रोतर्फबाट सम्पूर्ण रूपमा पहल भइरहेको छ । यसमा पनि सकारात्मक परिणाम आउने विश्वास छ,’ उनले भने । सुस्ता पुलले यहाँको पर्यटन विकासमा ठुलो योगदान पुग्ने स्थानीयको विश्वास छ ।
प्रतिक्रिया