विराटनगर : कोशी प्रदेशसभा सदस्य (प्रदेश सांसद) ललिताकुमारी चौधरीका छोरा १८ वर्षीय अक्षत माझीले चलाएको मोटरसाइकलको ठक्करको ठक्करबाट एक युवकको मृत्यु भएको छ ।
दुर्घटनामा परेर घाइते भएका झापाको चारआली घर भइ मोरङको बूढीगंगा गाउँपालिका–१ मा बस्दै आएका २४ वर्षीय आकाश मण्डलको बुधबार (आज) मृत्यु भएको हो ।
मोरङको ग्रामथान गाउँपालिका–४ घर भएका अक्षतले चलाएको प्रदेश १–०२–०४४ प ८४४ नम्बरको मोटरसाइकलले चार दिनअघि पैदलयात्रामा रहेका मण्डललाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि विराट शिक्षण अस्पताल भर्ना गरिएको थियो ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार बाटो क्रस गर्दैगर्दा दुर्घटनामा परेका आकाशको उपचारका क्रममा बुधबार बिहानका राति २ः३० बजेतिर मृत्यु भएको हो ।
मोरङको नेमुवाबाट तीव्र गतिमा विराटनगरतर्फ कुदेको मोटरसाइकलले कोशी राजमार्गअन्तर्गत बूढीगंगा–१ स्थित हिमगिरी साबुन फ्याक्ट्री अगाडि भदौ ५ गते शनिबार साँझ ७ः१० बजेतिर आकाशलाई ठक्कर दिएको हो ।
आफन्तका अनुसार बूढीगंगा–१ मा कोठा भाडामा लिएर बस्ने आकाश र उनकी पत्नी उषा तामाङ स्थानीय अमन होटलमा काम गर्थे ।
दुर्घटनामा मोटरसाइकल चालक माझी पनि घाइते भएका छन् । टाउको, अनुहार, हातखुट्टालगायत शरीरका विभिन्न भागमा चोट लागेका उनको विराटमै उपचार भइरहेको जानकारी डीएसपी बस्नेतले जानकारी दिए ।
प्रहरीका अनुसार मोटरसाइकल चालक अक्षतसँग सवारी चालक अनुमति पत्र (लाइसेन्स) छैन । लाइसेन्स प्राप्त नगरिकन लापरबाहीपूर्ण तरिकाले मोटरसाइकल चलाउँदा दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीका अनुसार मोटरसाइकल अक्षतकै नाममा छ ।
‘विना लाइसेन्स मोटरसाइकल चलाउँदा दुर्घटना भएको देखिन्छ । मोटरसाइकल चालक सांसदका छोरा हुन् । अहिलेसम्म अस्पतालमै रहेका उनलाई जोगाउन अनेक चलेखल हुँदैछ,’ प्रहरी स्रोतले भन्यो, ‘प्रहरीलाई समेत दबाब आइरहेको छ । सत्ताको पहुँचका भरमा भित्रभित्रै घटनालाई मिलाउने र दबाउने प्रयास भइरहेको छ । चालकको गम्भीर लापरबाहीले दुर्घटना भएको हो ।’
अक्षतविरुद्ध बुधबार जिल्ला प्रहरी कार्यालय मोरङमा किटानी जाहेरी परेको छ । मृतक आकाशका परिवारले सवारी ज्यान मुद्दामा दिएको जाहेरीका आधारमा घटनाको थप अनुसन्धान भइरहेको डीएसपी बस्नेतले बताए ।
प्रदेश सांसद ललिताकुमारीका पति धीरेन्द्र माझी फरवार्ड नामक लघुवित्तमा कार्यरत छन् । पूर्वमन्त्री एवं एमाले नेतृ भगवती चौधरी फरवार्ड लघुवित्तको संस्थापक हुन् । स्थानीयका अनुसार काठमाडौंमा बसेर पढ्ने छोरा अक्षत केही समयअघि घर आएका थिए ।
‘लाइसेन्स नै प्राप्त नगरेका छोरालाई मोटरसाइकल किनेर चलाउन दिइएको रहेछ । त्यो अभिभावकको लापरबाही हो,’ एक प्रहरी अधिकृतले भने ।
ललिताकुमारी सत्तारुढ नेकपा (एमाले)को तर्फबाट कोशीको समानुपातिक सांसद हुन् । यसबारे बुझ्न खोज्दा उनी सम्पर्कमा आउन चाहिनन् ।
यस्तो छ कानुनी व्यवस्था
सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ ले चालक अनुमति प्राप्त नगरिकन सवारीसाधन चलाउन नपाइने व्यवस्था गरेको छ । ऐनको दफा ४५ मा कुनै पनि व्यक्तिले चालक अनुमति प्राप्त नगरी कुनै पनि सवारी चलाउन नहुने भनिएको छ । दफा ४७ को (ख)मा २ पांग्रे सवारीका लागि १६ वर्ष उमेर पूरा भएको व्यक्तिले चालक अनुमति पत्र प्राप्त गर्न सक्ने उल्लेख छ ।
तर, सांसद ललिताकुमारीका छोराले भने लाइसेन्स प्राप्त नगरिकन लापरबाहीपूर्ण तरकाले मोटरसाइकल चलाउँदा भएको दुर्घटनामा पैदलयात्रीको ज्यानै गएको छ । दुर्घटना गराएबापत हुने कारबाहीबाट छोरालाई जोगाउन उनले दौडधूप र अनेक चलखेल गरिरहेको प्रहरी स्रोतले बतायो ।
सवारी तथा यातायात व्यवस्था ऐनको दफा १६१ मा सवारी दुर्घटनामा ज्यान मरेमा हुने सजायको व्यवस्था छ । उक्त दफाको उपदफा १ मा भनिएको छ, ‘कसैले सवारी चलाई कुनै मानिसलाई किची, ठक्कर दिई वा कुनै किसिमले सवारी दुर्घटना गराई सवारीमा रहेको वा सवारी बाहिर जुनसुकै ठाउँमा रहे बसेको कुनै मानिस त्यस्तो दुर्घटनाको कारणबाट तत्कालै वा सोही चोटको परिणाम स्वरुप एक्काइस दिनभित्र मरेमा त्यस्तो कार्य ज्यान मार्ने मनसाय लिई गरेको भए त्यसरी सवारी चलाउने व्यक्तिलाई जन्मकैद हुनेछ । कसैले ज्यान मार्ने मनसाय लिई त्यस्तो कार्य गरेकोमा ज्यान मर्न पाएको रहेनछ भने त्यसरी सवारी बलाउने व्यक्तिलाई कसुरको मात्रा अनुसार पाँच वर्षदेखि बाह्र वर्षसम्म कैद हुनेछ ।’
प्रतिक्रिया