मोरङमा बाढी र डुबानका कारण ४० घरपरिवार विस्थापित

शुक्रबार, ११ असोज २०८१
विराटनगर : अविरल वर्षाका कारण मोरङमा ४० घरपरिवार विस्थापित भएका छन् । निरन्तर वर्षापछिको बाढी र डुबानका कारण शुक्रबार मोरङमा ४० घरपरिवार विस्थापित भएका छन् । मोरङ प्रहरीका डीएसपी वेदप्रकाश जोशीका अनुसार रंगेलीमा १६ र धनपालथानमा २४ परिवार विस्थापित भएका हुन् । रंगेली नगरपालिका–२ लक्ष्मीपुरका १६ परिवार साँझ ५ बजेतिर विस्थापित भएको जोशीले बताए । रंगेली–२ स्थित कोचेनी खोलामा पानीको बहाव उच्च भएर बाढी बस्तीमा पसेको थियो । खोला बस्तीमा परेर घरघरमा पानी छिर्न थालेसँगै असुरक्षित भएर स्थानीय घरबार छाड्न बाध्य भएको डीएसपी जोशीले जानकारी दिए । विस्थापित भएकालाई इलाका प्रहरी कार्यालय रंगेलीका इन्सपेक्टर सन्तोषकुमार खड्का नेतृत्वको टोली र विभिन्न युनिटबाट परिचालित प्रहरीले उद्धार गरेका थिए । उद्धार गरेर बाढीपीडितलाई सरस्वती माध्यमिक विद्यालयमा राखिएको जानकारी जोशीले दिए । त्यस्तै, धनपालथान गाउँपालिका–३ बेतौना टोलका २४ परिवार विस्थापित भएका छन् । मंगलबारे नहरमा पानीको बहाव बढेर बाढी गाउँमा छिरेपछि स्थानीय विस्थापित भएको प्रहरीले जनाएको छ । बाढी र डुबानबाट पीडित बनेकालाई उद्धार गरेर सुरक्षित स्थानमा सारिएको डीएसपी जोशीको भनाइ छ । अविरल वर्षाका कारण कोशी प्रदेशको राजधानी विराटनगरसहित पूर्वको जनजीवन प्रभावित बनेको छ । विराटनगरको सिंघिया र केसलिया खोलामा आएको बाढी ‘ओभरफ्लो’ भएर बस्तीमा छिर्ने सम्भावना बढेकाले सचेत रहन प्रहरीले अपिल गरेको छ । मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले बाढी एवं डुबानको सम्भावित जोखिमलाई ध्यानमा राखेर सुरक्षाकर्मी तयारी अवस्थामा राखिएको जानकारी दिए । ‘ठाउँठाउँमा पीडितको उद्धारका लागि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ,’ उनले भने, ‘जोखिमयुक्त स्थान र सम्भावित जोखिमलाई ध्यानमा राखेर उद्धारको आवश्यक प्रबन्ध मिलाइएको छ ।’

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार