विपद्‌मा मृत्यु हुनेको संख्या १३२ पुग्यो, झ्याप्ले खोलामा मात्रै ३५ जनाको शव भेटियो

आइतबार, १३ असोज २०८१
काठमाडौँ । बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा परी मृत्यु हुनेको संख्या १३२ पुगेको छ । गृह मन्त्रालयका अनुसार हालसम्म काठमाडौं उपत्यकामा ६८, बागमती प्रदेशमा ४५, कोशी प्रदेशमा १७ र मधेश प्रदेशमा २ जनाको मृत्यु भएको छ ।
त्यसैगरी विपद्का घटनामा परी ६४ जना बेपत्ता र ६१ जना घाइते भएका छन् । सुरक्षाकर्मीको सक्रियताका कारण हालसम्म मुलुकभरबाट ३ हजार ६२६ जनाको सकुशल उद्धार गरिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार नागढुंगा–नौबिसे सडक खण्ड अन्तर्गत पर्ने झ्याप्ले खोलमा मात्रै ३५ जनाको शव फेला परेको छ । नेपाली सेनाको हेलिकप्टरबाट आइतबार बिहानदेखि हालसम्म काभ्रेपलाञ्चोकका विभिन्न स्थानबाट बाढी, पहिरो तथा प्राकृतिक जोखिममा परेको १९३ जनाको सकुशल गरिएको छ । नेपाली सेनाको टोली बढी जोखिममा फसेका नागरिकहरूको उद्धारका लागि दुई दिनदेखि हवाई उद्धार गरिरहेको छ । विपद्का कारण राजमार्ग अवरुद्ध रहेका सडक सुचारु गर्न सबै संयन्त्रहरू परिचालन गरिएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए । प्रभावित क्षेत्रमा नागरिकको उद्धार, राहत तथा घाइतेहरूको उपचारका लागि अस्पताल पुर्‍याउने लगायतका कार्यमा सुरक्षाकर्मीहरू सक्रिय भएर खटिएको उनले बताए । झ्याप्ले खोलमा बुटवलबाट आएको लु १ ख ४५७८ नम्बरको विङ्गरमा १४ जना, नारायणगढबाट आएको ना २ ख १३४५ नम्बरको माइक्रोबसमा १६ जना, गोरखाबाट काठमाडौं आएको ना ४ ख २२७० नम्बरको बसमा ५ जना गरी ३५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकमध्ये २५ जना पुरुष र १० महिला छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार