विराटनगर । मोरङका भिन्दाभिन्दै स्थानका खोला र पैनीमा सोमबार ३ वटा शव फेला परेको छ ।
मोरङ प्रहरीका डीएसपी वेदप्रकाश जोशीका अनुसार खोलाले बगाएर ल्याउँदै गरेको र डुबेर मृत्यु भएको अवस्थामा शवहरु फेला परेका हुन् । कानेपोखरी र ग्रामथान गाउँपालिका तथा विराटनगर महानगरपालिकामा मृत फेला पर्नेमा वृद्धसहित २ जना पुरुष र १ जना महिला रहेको जोशीले बताए । मृत फेला पनेमध्ये महिलाको पहिचान खुल्न सकिरहेको छैन ।
कानेपोखरी गाउँपालिका–४ खोरियामा डाँस खोलाले बगाएर ल्याउँदै गरेको अवस्थामा १ जना वृद्ध मृत फेला परेका छन् । इलाका प्रहरी कार्यालय पथरीका डीएसपी मोहनविक्रम दाहालले पथरीशनिश्चरे नगरपालिका–८ का ७५ वर्षीय लाखबहादुर राईलाई खोलाले बगाउँदै गरेको अवस्थामा स्थानीयले देखेर बाहिर निकालेको बताए ।
उनका अनुसार खोलाबाट दिउँसो १ बजेतिर बाहिर निकालिएका राईको मृत्यु भइसकेको पाइएको छ । प्रहरीका अनुसार कानेपोखरी–४ स्थित माइली छोरीको घरमा आएका राई ५ दिनदेखि सम्पर्कविहीन थिए । छोरीकोमा खाना खाएर आफ्नो घरतिर फर्किने क्रमममा राईलाई डाँस खोलाले बगाएको हुनसक्ने प्रहरीको आशंका छ ।
घटनास्थलबाट करिब साढे ३ किलोमटिर तल शव फेला परेको डीएसपी दाहालले बताए । ‘घर फर्किने क्रममा तर्न खोज्दा खोलाले बगाएर मृत्यु भएको हुनसक्ने आशंका छ । ५ दिनसम्म कतै अड्किएको थियो होला’ उनले भने, ‘स्थानीयले बगाउँदै गरेको देखेपछि बाहिर निकालेर हेर्दा मृत्यु भइसकेको रहेछ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको छ ।’
घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पथरीबाट इन्स्पेक्टर खगेन्द्र येक्तेनको नेतृत्वमा टोली खटिएको थियो । इन्स्पेक्टर येक्तेनकै टोलीले कानुनी प्रक्रिया पूरा गर्दै शवलाई पोस्टमार्टमका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर पठाएको छ ।
त्यस्तै, सिंघिया खोलाले बगाएर ल्याउँदै गरेको अवस्थामा विराटनगरमा १ जना महिलाको शव फेला परेको छ । डीएसपी जोशीका अनुसार विराटनगर महानगरपालिका–८ हाटखोलामा शव भेटिएको हो । अन्दाजी ३० वर्षीयाजस्तो देखिने महिलाको पहिचान नखुलेको उनले बताए ।
बगाएर ल्याउँदै गरेको देखेपछि स्थानीयले खोलाबाट दिउँसो १२ः४५ बजेतिर शवलाई बाहिर निकालेका थिए । घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मोरङबाट इन्स्पेक्टर हेमराज ओली नेतृत्वको टोली परिचालन गरिएको छ ।
प्रहरीले कानुनी प्रक्रिया पूरा गर्दै घटनास्थलबाट शवलाई पोस्टमार्टमका लागि कोशी अस्पताल लगेको छ । मृतकको चिउँडोमा चोट देखिएको छ । खोलाले बगाएर मृत्यु भएको हुनसक्ने उल्लेख गर्दै डीएसपी जोशीले मृतकको पहिचानको प्रयास गर्दै घटनाको अनुसन्धान अघि बढाइएको बताए ।
यसैबीच, ग्रामथान गाउँपालिका–६ का ३५ वर्षीय सत्यनारायण भगत घरनजिकैको पैनीमा मृत भेटिएका छन् । माछा मार्न भनेर आइतबार घरबाट हिँडेका उनको भोलिपल्ट डुबिरहेको अवस्थामा शव फेला परेको हो ।
डीएसपी जोशीका अनुसार फर्किएर नआएपछि खोजी गर्ने क्रममा घरदेखि करिब २ सय मिटर पश्चिममा रहेको पैनीमा डुबिरहेको अवस्थामा शव फेला परेको हो । भगत बिहान ९ बजेतिर मृत फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बेलबारीबाट इन्स्पेक्टर कृष्णबहादुर खत्री नेतृत्वको टोली घटनास्थल पुगेको थियो । खत्री नेतृत्वकै टोलीले कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि कोशी अस्पताल पठाएको छ ।
डीएसपी जोशीले घटनाको अनुसन्धान अघि बढाइएको बताए । उनका अनुसार पैनीमै डुबेर भगतको मृत्यु भएको हुनसक्ने अनुमान छ ।
प्रतिक्रिया