चाडपर्वमा कोशी प्रदेशमा १० हजार सुरक्षाकर्मी परिचालन हुने

मंगलबार, १५ असोज २०८१
धरान । कोशी प्रदेशमा चाडपर्व लक्षित सुरक्षा योजना तयार भइसकेको कोशी प्रदेशका वरिष्ठ प्रहरी उपरीक्षक भीम बहादुर दाहालले बताएका छन् । चाडपर्वमा हुने असुरक्षालाई थप सुरक्षित बनाउने उद्देश्य सहित धरानमा आयोजित बडादसैँ, तिहार, छठ पर्व लगायतका चाडपर्वहरूको शुभकामना एवम् शान्ति सुरक्षा सम्बन्धी छलफल कार्यक्रममा प्रहरी उपरीक्षक दाहालले यस्तो बताएका हुन् । चाडपर्वमा हुनसक्ने चोरी, पाकेटमार, ठगी, लुटपाट, स्न्याचिङ, कुटपिट, झैँ–झगडा, सवारी दुर्घटना, कालोबजारी, खाद्य पदार्थको कृत्रिम अभाव तथा पटाकाहरू जस्ता अपराधजन्य कार्यहरू न्यूनीकरण गर्न सुरक्षाको लागी कोशी प्रदेशमा मात्र करिब दश हजार सुरक्षाकर्मीहरू तैनाथ रहने उनले बताए । हाल बाढीले आएको विपद्मा कोशी प्रदेश भरी मात्र करिब एक हजार ९४ जना प्रहरीहरू खटिरहेको समेत उनले बताए । पछिल्लो समय देखावटी र भड्किलो चाडपर्व मनाउन थालिएकोले विभिन्न समस्याहरू आउने हुनाले सबैले मिलेर समस्या न्यूनीकरण गर्न आग्रह गर्दै चाडपर्वलाई सभ्य भई सबै नागरिकले मनाउन कोशी प्रदेशको सांसद रमेश बस्नेतले आग्रह गरे । चाडपर्वमा जुवातास, डाइस, लगायतको भिडभाड निषेध गरिएको प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले बताए । यसरी कहीँकतै जुवातास होहल्ला गरेको देखेमा असल नागरिक भई तुरुन्त खबर गर्न आग्रह समेत गरे । कार्यक्रममा धरान उपमहानगरपालिकाको पूर्व नगर प्रमुख तिलक राई, सुनसरीका एसपी सुमन तिम्सिना, जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानका प्रमुख वीरेन्द्र सिंह थापा, जनता समाजवादी पार्टी धरानका सभापति ताजुब लिम्बु, नेकपा एमालेका हर्कजंग एभेङ,उद्योग वाणिज्य सङ्घा अध्यक्ष विजय श्रेष्ठ लगायत विभिन्न सङ्घसंस्था तथा राजनीतिक दलहरूको प्रतिनिधीहरुको उपस्थिति रहेको थियो ।    

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार