कोशी प्रदेशका विभिन्न जिल्लामा दुर्घटना हुँदा ३ जनाको मृत्यु, ३ घाइते

मंगलबार, २० कार्तिक २०८१
विराटनगर । कोशी प्रदेशका मोरङ, सुनसरी र झापा जिल्लामा सोमबार दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । ३ जना घाइते भएका छन् । मोरङको रतुवामाई नगरपालिका–१० पवित्र चोकस्थित भित्री सडक खण्डमा दिउँसो २ः४० बजेतिर बस र मोटरसाइकल ठोक्किएर दुर्घटना भएको थियो । आमबारीबाट उर्लाबारीतर्फ जाँदै गरेको ना ४ ख ४०१३ नम्बरको बस र उर्लाबारीबाट आमबारीतर्फ आउदै गरेको प्रदेश १–०१–०१४ प २४४३ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल चालक झापाको कमल गाउँपालिका–५ २८ वर्षीय सन्देश गौतमको मृत्यु भएको कोशी प्रदेशका ट्राफिक प्रहरी प्रमुख एसपी विनोद घिमिरेले बताए । उनका अनुसार दुर्घटनामा परेर गम्भीर घाइते भएका गौतमको राति ८ः४५ बजेतिर विराटनगरको आर्या न्युरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । मोटरसाइकलको पछाडि सवार सन्देशका बुवा ५० वर्षीय गोपाल गौतम दुर्घटनामा घाइते भएको प्रहरीले जनाएको छ । अरनिको अस्पताल उर्लाबारीमा उपचार हुन नसकेपछि थप उपचारका लागि आर्या न्युरो अस्पताल ल्याइएको छ । बस र चालक रतुवामाई–६ का ३२ वर्षीय गोपाल बस्नेतलाई इलाका प्रहरी कार्यालय सिजुवाले नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान सुरु गरेको छ । मोटरसाइकलको तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । दुर्घटनामा परेका बस र मोटरसाइकलमा पनि क्षति पुगेको छ । त्यस्तै, सुनसरीको बराहक्षेत्र नगरपालिका–३ नडाहास्थित भित्री सडक खण्डमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । पकलीबाट चतरातर्फ जाँदै गरेको प्रदेश १–०२–०४३ प ६६६२ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा बराहक्षेत्र–३ का ४५ वर्षीय लोकबहादुर पौडेलको मृत्यु भएको एसपी घिमिरेले बताए । उनका अनुसार सडक पार गर्दै गरेको अवस्थामा बिहान ८ः५५ बजेतिर मोटरसाइकलले ठक्कर दिएको थियो । गम्भीर अवस्थाका पौडेलको उपचारका क्रममा विराट शिक्षण अस्पतालमा दिउँसो १ बजेतिर मृत्यु भएको जानकारी घिमिरेले दिए । दुर्घटनामा परेर मोटरसाइकल चालक सुनसरीको इटहरी उपमहानगरपालिका–२ का ४० वर्षीय राजन धमला र पछाडि सवार २० वर्षीया बन्दना धमला घाइते भएका छन् । सामान्य अवस्थाका दुवै जनाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । मोटरसाइकल इलाका प्रहरी कार्यालय महेन्द्रनगरको नियन्त्रणमा छ । मोटरसाइकलको तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । यसैबीच, झापाको कनकाई नगरपालिका–५ चप्रमारीस्थित भित्री सडक खण्डमा मोटरसाइकलले बिहान ११ बजेतिर ठक्कर दिँदा बालकको मृत्यु भएको छ । मे ११ प ३३८ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा विनोद पाठकका छोरा ७ वर्षीय सोहन पाठकको मृत्यु भएको एसपी घिमिरेले बताए । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका बालकलाई उपचारका लागि बिर्तासीटी अस्पताल लगिएको थियो । ११ः२० बजेतिर चिकित्सकले मृत घोषित गरेका हुन् । बाटोमा खेल्दै गरेका बालकलाई मोटरसाइकलले ठक्कर दिएको थियो । मोटरसाइकल चालक अन्दाजी २३ वर्षीय आजत मियाँलाई प्रहरीले पक्राउ गरेको छ । कच्ची सडकका कारण दुर्घटना भएको प्रहरीको भनाइ छ । दुर्घटनाका घाइतेको १६ दिनपछि मृत्यु संखुवासभाको मादी नगरपालिका–६ सिरिसेमा ट्याक्टर दुर्घटना हुँदा गम्भीर घाइते भएका १ जनाको १६ दिनपछि मृत्यु भएको छ । पिलुवाबाट ओखरबोटोतर्फ जाँदै गरेको को ४ त ७७६५ नम्बरको ट्याक्टर कात्तिक ३ गते राति दुर्घटनामा परेको थियो । दुर्घटनामा परेर ट्याक्टरमा सवार मादी–६ का ४५ वर्षीय लोकबहादुर तामाङ गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सोमबार बिहान ११ः४० बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ । उनलाई सुरुमा उपचारका लागि जिल्ला अस्पताल खाँदबारी लगिएको थियो । त्यहाँबाट थप उपचारका लागि कात्तिक १२ गते विराटनगरको कोशी अस्पताल पठाइयो । कोशीमा पनि सम्भव नभएपछि १५ गते धरान लगिएको थियो । दुर्घटना भएका बेला ट्याक्टर मादी–६ का ४० वर्षीय ज्ञानु तामाङले चलाएका थिए । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार