विराटनगर : मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षका लागि १६ जनाले उम्मेदवारी दिएकोमा निर्वाचन आयोगले अन्तिम नामावली प्रकाशन गरेको छ ।
जसअनुसार उम्मेदवार दिएका १६ जनाकै अन्तिम नामावली प्रकाशन गरिएको छ । १५ जना विभिन्न दलबाट उम्मेदवार छन् भने एकजना स्वतन्त्र उम्मेदवारी छन् ।
स्वतन्त्र भनिएपनि एमालेबाट बागी उम्मेदवारी दिएका नमनारायण चौधरीले ‘मुढा’ चुनाव चिह्न पाएका छन् ।
नेकपा (एमाले)बाट उनी आगामी १६ मंसिरको उपनिर्वाचनमा गाउँपालिकाको अध्यक्षका आकांक्षी थिए । उनीसहित ११ जना आकांक्षी रहेकोमा पार्टीले एमाले गाउँपालिका उपाध्यक्ष तुलसीराम विश्वासलाई टिकट दिएको थियो ।
पार्टीको निर्णयबाट रुष्ट बनेका चौधरीले एमालेविरुद्ध बागी हालेका हुन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले उनलाई आज (बुधबार) अपराह्न ‘मुढा’ चुनाव चिह्न दिएको हो ।
मुख्य निर्वाचन अधिकृत उद्धवप्रसाद भट्टराईका अनुसार दलबाट उम्मेदवारी दिनेलाई सम्बन्धित दलको र स्वतन्त्रलाई ‘मुढा’ चुनाव चिह्न प्रदान गरिएको हो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज दिउँसो १ बजेसम्म इच्छुकका लागि उम्मेदवारी फिर्ता लिने समय तोकेको थियो । तर, निर्धारित समयसम्म कसैले उम्मेदवारी फिर्ता लिएनन् । त्यसपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारहरूलाई चुनाव चिह्न प्रदान गरेको छ ।
मुख्य निर्वाचन अधिकृत भट्टराईका अनुसार ग्रामथानको अध्यक्षका लागि एमालेबाट विश्वास, नेपाली कांग्रेसबाट बलराम सरदार, नेकपा (माओवादी केन्द्र)बाट नमोनारायण माझी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट दिनेशकुमार थन्दार (दिवेश), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट नवीनकुमार विश्वास र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)बाट धर्मेन्द्रकुमार चौधरी मैदानमा छन् ।
यसैगरी नेपाल मजदुर किसान पार्टी (नेमकिपा)बाट पर्शुराम विश्वास थारु, मंगोल नेशनल अर्गनाइजेसनबाट भरत राई, बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीबाट रामकुमार चौधरी, जनमत पार्टीबाट विनोदकुमार माझी, नागरिक उन्मुक्ति पार्टीबाट बुद्धिचन विश्वास, नेकपा (एकीकृत समाजवादी) पार्टीबाट दिलबहादुर विश्वकर्मा, कमल थापा नेतृत्वको राप्रपा नेपालबाट राजु मुसहर, उपेन्द्र यादव नेतृत्वको जसपा नेपालबाट सुरेशकुमार राजवंशी र समावेशी समाजवादी पार्टी नेपालबाट बोधनारायण माझीको उम्मेदवारी परेको छ । नमनारायण चौधरी स्वतन्त्र उम्मेदवार छन् ।
२०७९ सालको स्थानीय तह चुनावबाट ग्रामथानको अध्यक्षमा नेपाली कांग्रेसका जयप्रकाश गच्छदार निर्वाचित भएका थिए । उनको गत असार ३ गते निधन भएसँगै रिक्त रहेको अध्यक्ष पदका लागि आगामी मंसिर १६ गते उपनिर्वाचन हुन लागेको हो ।
७ वटा वडा रहेको ग्रामथानमा २६ हजार ४४ मतदाता छन् । २०७९ सालको स्थानीय निर्वाचनमा २५ हजार ९ सय ४२ मतदाता थिए । आगामी उपनिर्वाचनका लागि एक सय दुई जना मतदाता थपिएका छन् ।
उपनिर्वाचनका लागि १२ वटा मतदानस्थल र २९ वटा मतदान केन्द्र कायम गरिएको छ ।
प्रतिक्रिया