बराहक्षेत्र प्रहरी चौकीको नवनिर्मित भवन उद्घाटन

बुधबार, ०५ मंसिर २०८१
बराहक्षेत्र : सुनसरीको बराहक्षेत्र प्रहरी चौकीको नवनिर्मित भवन उद्घाटन गरिएको छ । धनकुटा जिल्लासँगै सीमा जोडिएको बराहक्षेत्र नगरपालिका वडा नं. १ स्थित बराहक्षेत्र मन्दिर परिसरमा प्रहरी चौकी बराहक्षेत्रको नवनिर्मित भवनको बुधबार उद्घाटन गरिएको हो । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) चन्द्रकुवेर खापुङ तथा बराहक्षेत्र नगरपालिकाकी उपप्रमुख नन्दकुमारी सुनुवारले संयुक्त रूपमा प्रहरी चौकी भवनको उद्घाटन गरेका हुन् । धरतीको पहिलो तीर्थस्थल बराहक्षेत्रमा प्रहरी चौकी बराहक्षेत्रको भवन निर्माण सम्पन्न भई उद्‍घाटन भएकोमा निर्माण कार्यमा सहयोग पुर्‍याउनेहरूलाई डीआइजी खापुङले धन्यवाद दिए । शान्ति सुरक्षा तथा अपराध नियन्त्रणमा जनचाहना बमोजिमको प्रहरी सेवा प्रदान हुनेमा उनले विश्वास दिलाए । प्रहरी चौकीमा कार्यरत प्रहरी कर्मचारीहरूलाई नयाँ भवन प्राप्त भएसँगै आम नागरिकमा प्रहरीले प्रदान गर्ने सेवामा थप गुणस्तरसहितको प्रहरी सेवा प्रदान गर्न सकिने उनको भनाइ छ । नवनिर्मित भवन उद्‍घाटन कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर भौतिक पूर्वाधार शाखाका प्रहरी उपरीक्षक आर्किटेक हरी डंगोलले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिना, बराहक्षेत्र नगरपालिकाका उपप्रमुख सुनुवारलगायतले मन्तव्य राखेका थिए । नवनिर्मित प्रहरी चौकी भवन शिलालेख अनावरण गरी भवनको विधिवत रूपमा उद्घाटन गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता, डीएसपी रामप्रसाद तिम्सिनाले बताए । नेपाल सरकारको ३ करोड १९ लाख ४० हजार रुपैयाँ बजेटको लागतमा साढे दुई तलाको भवन निर्माण सम्पन्न भएको हो । धार्मिक महत्वको हिसाबले प्रसिद्ब बराहक्षेत्र मन्दिरमा प्रहरी चौकी स्थापनाले स्थानियसँगै पर्यटक तथा स्थानीय व्यापारीहरूलाई राहत तथा सुरक्षाको प्रत्याभूति महसुस भएको स्थानीय कुमार श्रेष्ठले बताए । प्राकृतिक जोखिम, सुरक्षा लगायको दृष्टिकोणमा संवेदनशील तथा मेला, पर्वलगायतको हिसाबले सुरक्षा चुनौती रहेको बराहक्षेत्रमा नवनिर्मित भवनले सुरक्षित महसुस गर्न सकिने बराहक्षेत्र मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष भक्तबहादुर श्रेष्ठले बताए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार