धरानमा देउसीबाट उठेको रकम क्यान्सर पीडितलाई सहयोग

बुधबार, ०५ मंसिर २०८१
धरान : नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अगुवाइमा धरानका केही पत्रकार तथा मजदुर नेताहरूले खेलेको देउसी कार्यक्रमबाट उठेको दक्षिणा रकममध्ये ६५ हजार रुपैयाँ क्यान्सर पीडित सञ्चारकर्मी स्नेहा श्रेष्ठको उपचारका लागि प्रदान गरिएको छ । बुधबार नेपाल पत्रकार महासंघ सुनसरी अध्यक्ष जनकऋषि राई र मजदुर नेता तथा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले क्यान्सर पीडित पत्रकार श्रेष्ठको निवासमा सहयोग हस्तान्तरण गरिएको हो । ब्रेस्ट क्यान्सरबाट पीडित श्रेष्ठको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । उनको मंसिर ९ गते शल्यक्रिया हुँदैछ । उनको उपचारमा सहयोग होस् भन्ने उदेश्यले सहयोग प्रदान गरिएको फोटो पत्रकार महासंघ सुनसरी अध्यक्ष विकास चाम्लिङ राईले जानकारी दिए । २०८१ को तिहारमा देउसी खेलेर प्राप्त दक्षिणामध्ये पत्रकार श्रेष्ठसहित मुखको क्यान्सर पीडित भानुचोकमा मजदुरीको काम गर्दै आएका बुद्ध ठटाललाई १० हजार र मृगौला पीडित इटहरीका पत्रकार पीबी दियालीलाई १० हजार प्रदान गरिने अध्यक्ष राईले बताए । फोटो पत्रकार महासंघ सुनसरीको अगुवाइमा भएको देउसी कार्यक्रममा नेपाल पत्रकार महासंघ सुनसरी, प्रेस चौतारी नेपाल धरान नगर कमिटी, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन र विभिन्न व्यक्तिहरूले सहयोग गरेका थिए । विगत एक दशकदेखि उक्त समूहले देउसी खेलेर प्राप्त दक्षिणाबाट साहित्यकार श्री सुब्बाको कृति प्रकाशन, स्पाइनल कर्ड इन्जुरी भएका यातायात मजदुर पूण्य प्याकुरेल घर निर्माण अभियानमा सहयोग, पत्रिकाका हकर ज्ञानबहादुर माझीको घर निर्माणमा सहयोग, एकल महिला जानुका बिकको घर निर्माणमा सहयोगजस्ता सामाजिक काम गर्दै आएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार