अन्तर–सीमा अपराध रोक्न सक्रियता बढाउँदै सशस्त्र

शनिबार, ०८ मंसिर २०८१
झापा । सशस्त्र प्रहरी बलले झापाको अन्तर–सीमा क्षेत्रमा हुनसक्ने अपराध र भन्सार राजस्व छली लगायत गतिविधि नियन्त्रण गर्ने उद्देश्यले सक्रियता बढाएको छ । सीमा सुरक्षाका सशस्त्रले लागि नियमित गस्ती, चेकजाँच र तालिम प्राप्त कुकुरको समेत प्रयोग गर्न थालेको हो । मेचीनगरको उत्तरी क्षेत्र बाहुनडाँगी बाट दक्षिणको गौरीगञ्ज सम्म भारत सँग जोडिएको एक सय ४४ किलोमिटर सीमा क्षेत्रमा सशस्त्र प्रहरी बलका चारवटा सीमा सुरक्षा गुल्म र १७ वटा बोर्डर आउट पोस्ट (बिओपी)हरु तैनाथ रहेका सशस्त्र प्रहरी बल २ नं गण चन्द्रगढीका सूचना अधिकारी मदन रसाइलीले जानकारी दिए । उनका अनुसार सीमा क्षेत्रका बासिन्दा सँग सहकार्य गर्दै अपराध नियन्त्रणलाई थप सहज तुल्याउन सशस्त्र प्रहरी बलले झापाको सीमावर्ती २१ वटा वडामा वडास्तरीय सहजीकरण समिति गठन गरेको छ । चालु आर्थिक वर्षको चार महिनामा सशस्त्र प्रहरी बलको सीमा सुरक्षा गुल्म र बोर्डर आउट पोस्टहरुले चार करोड ७८ लाख ४३ हजार पाच सय ५३ मूल्य बराबरको कर बीजक नभएको अवैध सामान बरामद गरेर भन्सारमा दाखिला गरेको सूचना अधिकारी रसाइलीले बताए । बरामद भएका मालसामानहरुमा लागूऔषध, मदिरा, लत्ताकपडा, सवारी साधन, चौपाया, मोटर पार्टस्, सुर्तीजन्य पदार्थ, हार्डवेयर, मासुजन्य, किराना सामान लगायत रहेका छन् । गत आर्थिक वर्षमा सशस्त्र प्रहरी बलले झापामा भन्सार छलेर भित्र्याइएको ११ करोड १० लाख ८४ हजार मूल्य बराबरको मालसामान बरामद गरेको थियो । उक्त अवधिमा लागूऔषधका एक सय चारजना कारोबारी, ८१ वटा चौपाया, १२ सवारी साधन, सात सय ८९ गोलिया काठ र २४ बोरा पटाका समातिएको थियो । उनका अनुसार शुक्रबार कचनकबल गाउँपालिका–५ निवासी ४० वर्षीय नजाम खातुनको घरमा भारत बाट भन्सार छलेर ल्याइएको सामान लुकाएर राखिएको सूचना पाएपछि घेराबारी गुल्म बाट खटिएको सशस्त्र प्रहरी बलको टोलीले १२ लाख २० हजार मूल्य बराबरको लत्ताकपडा बरामद गरेको छ । बलको काँकडभिट्टा स्थित सीमा सुरक्षा गुल्मले मेचीनगर–६ मा शुक्रबार एक लाख ८० हजार मूल्य बराबरको सुपारी बेवारिसे अवस्थामा फेला पारेको छ । सुपारी नेपाल बाट भारत लैजान प्रतिबन्ध भउ पनि तस्करहरुले सीमा सुरक्षाकर्मीको आँखा छलेर भारत लैजाने गरेका छन् । सुपारी सँगै ५७ हजार मूल्य बराबरको पाँच हजार ८६ वटा विभिन्न फूलका बिरुवा सीमा क्षेत्रबाट बेवारिसे अवस्थामा फेला पारेको थियो । केही दिनअघि भन्सार छलेर भित्र्याइएको ठूलो मात्राको मदिरा समेत सशस्त्र प्रहरी बलले बरामद गरेको थियो । पछिल्लो समय लागूऔषधको ओसारपसार बढे सँगै सशस्त्रले निगरानी पनि बढाएको छ । सशस्त्र प्रहरी बलको काँकडभिट्टा गुल्मले यस्ता गतिविधि नियन्त्रणका लागि पूर्वीनाकामा चेकजाँचका लागि जोजो नामक तालिम प्राप्त कुकुरसमेत परिचालन गरिएको सूचना अधिकारी रसाइलीले जानकारी दिए । काँकडभिट्टा नाकामा परिचालन गरिएको तालिम प्राप्त कुकुरको सहायताले लागूऔषधको ओसारपसार रोक्न सहज भएको उनको भनाइ छ । चार महिनाको अवधिमा जिल्लामा सशस्त्र प्रहरी बलले लागुपदार्थ ओसारपसारमा संलग्न ५४ जना र त्यस कार्यमा प्रयोग भएका आठवटा सवारी साधन नियन्त्रणमा लिएको जनाएको छ । “सिटी सफारी, स्कुटर र मोटरसाइकल मार्फत मेची पुल पार गर्ने शङ्कास्पद व्यक्तिहरुको शारीरिक तलासी र निगरानी गर्न मानवीय जनशक्तिलाई नै सहज हुन्छ”, सूचना अधिकारी रसाइलीले भने, “तर कतिपय व्यक्तिले मलद्वारमा ब्राउन सुगर लुकाएर ल्याउने गरेका छन् । त्यस्तो अवस्थामा तालिम प्राप्त कुकुरको सहयोग प्रभावकारी हुन्छ ।” गत कात्तिक २९ गते काँकडभिट्टाको मेची पुलमा तालिम प्राप्त कुकुरको सहायताले भारत बाट सिटी सफारी चढेर नेपाल आउँदै गरेका तीन जनाको मलद्वार बाट ब्राउन सुगर बरामद गरिएको थियो । सूचना अधिकारी रसाइलीका अनुसार मलद्वारमा प्लास्टिकको पोको पारी ब्राउन सुगर तस्करी गर्नेहरु मुगु जिल्लाको खत्याड गाउँपालिका–७ का २२ वर्षीय हिराप्रसाद जैसी, मेचीनगर–१० का ३३ वर्षीय नेसरु मिया र दमक–३ का २५ वर्षीय मनिष धिमाल रहेका छन् । झापाको काँकडभिट्टा, बाहुनडाँगी, भद्रपुर, कचनकबल, टाघनडुब्बा र गौरीगञ्ज सीमा क्षेत्र बाट तस्करहरुले भन्सार छलेर लागुऔषध, लत्ताकपडा, मदिरा, मलखाद लगायत सामान नेपाल भित्र्याउने क्रम बढे पछि नेपाल प्रहरी र सशस्त्र प्रहरी बल आपसी सहकार्यका साथ नियन्त्रणमा खटिएका हुन् । सशस्त्र प्रहरी बलले सीमाको सुरक्षा, अन्तर सीमा अपराध नियन्त्रण, मानव तस्करी नियन्त्रण, हातहतियार तस्करी नियन्त्रण लगायत कार्यमा विशेष निगरानी बढाएको रसाइलीले बताए । तेस्रो मुलुकका नागरिक बाट हुनसक्ने घूसपैठ समेत सशस्त्र प्रहरी बलले नियन्त्रण गर्दै आएको छ । गत कात्तिक २८ गते भारतको पानीटङ्की बाट नेपाल तर्फ विना प्रवेशाज्ञा घुसेका दुई जना बङ्गलादेशी नागरिकलाई सशस्त्र प्रहरी बलको सीमामा तैनाथ टोलीले नियन्त्रणमा लिएर अध्यागमन कार्यालयमा अनुसन्धानका लागि बुझाएको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार