काठमाडौँ : उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सामाजिक सुरक्षाका दायरलाई विस्तार गर्नुपर्ने जरुरी भएको बताएका छन् ।
नेपाल ट्रेड युनियन महासङ्घले सातौँ सामाजिक सुरक्षा दिवसको अवसरमा आज आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री पौडेलले एमाले नेतृत्वको सरकारले नै नेपालमा सामाजिक सुरक्षाको अवधारणा अघि सारेको र त्यसको दायरालाई विस्तार गर्ने बताएका हुन् ।
“सामाजिक सुरक्षाको अवधारणा अघि सार्ने, त्यसलाई व्यवहारिकरूपमा कार्यान्वयन गर्ने र स्थापित गर्ने अभियानको नेतृत्व नेकपा (एमाले)ले गरेको हो”, अर्थमन्त्री पौडेलले भने, “एमाले नेतृत्वको सरकारले गरेको हो ।”
उनले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम ल्याएको स्मरण गराए । उनले राज्यको जिम्मेवारी नागरिकप्रति छ भन्ने अवधारणाको आधारका सामाजिक सुरक्षाको अवधारणा अघि सारिएको बताए ।
अर्थमन्त्री पौडेलले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम मौलिक सोच भएको उल्लेख गर्दै नेपाली मजदुरलाई उत्साहित र भविष्यप्रति आश्वस्त बनाउने काम गरेको स्पष्ट पारे ।
उनले अझ व्यवहारिक बनाउन अझ परिमार्जित गर्नुपर्नेमा जोड दिँदै नेतृत्वको वर्तमान सरकारले सामाजिक सुरक्षा कार्यक्रमलाई अझ प्रभावकारी र रचनात्मक बनाउने विश्वास दिलाए ।
प्रतिक्रिया
लेखकको बारेमा
रासस
नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।
प्रतिक्रिया