धरानमा चिसो बढेसँगै भक्काको बिक्री बढ्यो

बुधबार, १२ मंसिर २०८१
धरान : पूर्वी नेपालको धरानसहित देशैभर अहिले चिसो बढिरहेको छ । चिसो बढेसँगै बिहान र साँझको समयमा खाजाका रूपमा भक्का बिक्री हुन थालेको छ । धरान उपमहानगरपालिका–१८ बस्ने सुबु राजधानमीले विगत १० वर्षदेखि जाडो मौसमभरी भक्का बेच्दै आएकी छन् । उनले जाडोको समयमा भक्का बिक्रीबाट गुजारा गर्दै आएको बताउँछिन् । ‘भक्कासंगै आलुचप, प्याजीसमेत बेच्दै आएकी छु,’ उनले भनिन्, ‘धरानका विभिन्न गल्लीहरूमा खाजाको रूपमा भक्का खाने मानिसहरूको भीड हुने गर्दछ ।’ बिहान ५ बजेदेखि १० बजेसम्म र दिनको ३ बजेदेखि साँझ ७ बजेसम्म भक्का बेच्दै आएको उनी बताउँछिन् । ‘काममा जाने आउने मानिसहरूदेखि विद्यार्थीहरूसमेत भक्का खान मन पराउँछन्,’ उनी भन्छिन्, ‘त्यसैकारण पनि धरानलगायत तराई क्षेत्रको अधिकाशं गल्लीहरूमा बेचिन्छ ।’ जाडो मौसममा धेरैले भक्का मन पराउने भएकोले भक्काको व्यापार राम्रो हुने गरेको उनी बताउँछिन् । पहिला ५ रुपैंयामा बेचिने भक्का अहिले महगींले गर्दा २० रुपैंयामा बेच्दै आएको उनको भनाइ छ । दैनिक दुई देखि तीन हजार रुपैयाँको भक्का बिक्री गरेको भएपनि पाँच सय देखि सात सयसम्म मात्रै व्यापार हुने गरेको उनी बताउँछिन् । खासगरी भक्का अचारसँग खाने प्रचलन छ । पछिल्लो समय भक्का कुनै समुदायको पहिचान झल्काउने खानामात्र नभएर धेरैका लागि आम्दानीको स्रोत पनि बन्दै गएको छ ।

प्रतिक्रिया

निशा राई
लेखकको बारेमा
निशा राई

सम्बन्धित समाचार