विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरूले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।
मुख्यमन्त्री हिक्मतकुमार कार्की र अन्य मन्त्रीहरूले सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् । सम्पत्ति विवरणअनुसार मुख्यमन्त्री कार्कीको झापामा २ र ललितपुरमा ३ वटा घर छन् ।
झापाको गौरादह नगरपालिका–१ र ३ मा रहेका घर दाजु दीपक कार्कीसँगको संयुक्त हो । उक्त घर र जग्गाको स्रोत पैत्रिक सम्पत्ति भनेर कार्कीले उल्लेख गरेका छन् ।
ललितपुरको महालक्ष्मी नगरपालिका–४ स्थित घर र जग्गा भने श्रीमती अञ्जना पाण्डे कार्कीको नाममा छ । घरसँगै २३२ र २८६ वर्गमिटर जग्गा रहेको विवरणमा उल्लेख छ ।
उक्त घर र जग्गा २०७७ सालमा १ करोड ४० लाखमा खरिद गरेको कार्कीले उल्लेख गरेका छन् । एभरेष्ट बैंकबाट ९० लाख रुपैयाँ ऋण लिएर र बाँकी रकम अन्य लगानीबाट घर जग्गा खरिद गरेको उनले देखाएका हुन् । मुख्यमन्त्री कार्कीले २०७७ साल असोजमा ऋण लिएको उल्लेख गरेका छन् ।
मुख्यमन्त्री कार्कीको हाउजिङ कम्पनी, अस्पताल र निजी विद्यालयमा लगानी छ । उनका अनुसार ड्रिमल्याण्ड हाउजिङ कम्पनीमा १० हजार कित्ता सेयर छ ।
काठमाडौंको कलंकीस्थित सहिद मेमोरियल अस्पतालमा १ हजार ५ सय कित्ता सेयर छ । श्रीमती अञ्जनाको नाममा लिभरपुल एजुकेशन नेटवर्क प्रालिमा २१ लाख ३८ हजार लगानी छ । मुख्यमन्त्री कार्कीले ६ तोला सुन र १० तोला चाँदी रहेको विवरण सार्वजनिक गरेका छन् ।
यसैगरी भौतिक पूर्वाधार विकासमन्त्री भूपेन्द्र राईको नाममा खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकामा दुई वटा घर छन् ।
खोटाङमा १५ वटा छुट्टाछुट्टै कित्ता नम्बरको जग्गा छ । राईले घरजग्गाको स्रोत पैतृक देखाएका छन् । उनीसँग १५ तोल सुन र १० तोला चाँदी छ ।
सामाजिक विकासमन्त्री पाँचकर्ण राईसँग दुई वटा घर छन् । उनको खोटाङ र भक्तपुरमा घर रहेको छ । राईले खोटाङको दिक्तेल–रुपाकोट–मझुवागढी नगरपालिकामा पुर्खौली स्रोतबाट एउटा घर जोडेको विवरण पेस गरेका छन् ।
भक्तपुरको मध्यपुर थिमीमा भने आफ्नै स्रोतबाट खरिद गरेको उल्लेख गरेका छन् । मन्त्री राईले खोटाङमा ६६ रोपनी जग्गा र १० तोल सुन रहेको सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।
आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरको नाममा एउटा घर छ । इलामको ६ ठाउँमा जग्गा रहेको देखाएका उनले ३ वटा कम्पनीमा सेयर छ । उनले ३८ लाख ऋण देखाएका छन् ।
यस्तै, खानेपानी सिँचाइ तथा उर्जामन्त्री एकराज कार्कीले झापाको बिर्तामोडमा एउटा घर रहेको सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । उनले श्रीमती र आफ्नो नाममा छुट्टाछुट्टै ८ वटा कित्ता नम्बरको जग्गा रहेको देखाएका छन् ।
मन्त्री कार्कीले साढे १० तोल सुन, एउटा गाडी रहेको सम्पत्ति देखाएका छन् । बैंक र व्यक्तिबाट १ करोड ५ लाख रुपैयाँ ऋण लिएको उल्लेख गरेका छन् ।
उद्योग कृषि तथा सहकारीमन्त्री खगेनसिंह हाङगामको नाममा ताप्लेजुङको मेरिङदेन गाउँपालिका– ४ मा घरजग्गा छ । ४५ तोल सुन र ४० तोला चाँदी आफूसँग रहेको विवरण सार्वजनिक गरेका छन् । हाङगामको विभिन्न ७ वटा हाइड्रोपावरमा लगानी छ ।
पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलले सुनसरीमा ६ बिघा जग्गा र घर रहेको विवरण सार्वजनिक गरेका छन् । उनले ३ करोड १९ लाखमा जग्गा खरिद गरेको उल्लेख गरे । उक्त जग्गा खरिदका लागि आफ्नो ११ बिघा जग्गा बिक्री गरेको मण्डलले खुलाएका छन् । त्यसबाहेक ३ स्थानमा खेती योग्य जमिन छ ।
कोशी प्रदेशकी राज्यमन्त्री सृजना राईको नाममा भोजपुरको भोजपुर नगरपालिका–८ मा एउटा घर र जग्गा छ । ४ तोला सुन र २५ तोला चाँदी रहेको सम्पत्ति विवरण उनले सार्वजनिक गरेकी छन् । युनिक एण्ड युनाइडेट पब्लिक एकेडेमीमा पनि उनको लगानी छ । ७४ लाख रुपैयाँ ऋण रहेको राईले उल्लेख गरेकी छन् ।
भौतिक पूर्वाधार विकास राज्यमन्त्री भूमिप्रसाद राजवंशीसँग झापाको कचनकवलमा एउटा घर छ । विभिन्न ठाउँमा जग्गा र ३० लाख बैंक मौज्दात रहेको सम्पत्ति विवरण उनले सार्वजनिक गरेका छन् ।
राजवंशीले २० तोला सुन र १ सय २४ तोला चाँदी रहेको खुलाएका छन् ।
यसअघि मुख्यमन्त्री तथा मन्त्रीहरूले सम्पत्ति विवरण सार्वजनिक नगरेको भन्दै आलोचना हुँदै आएको थियो ।
प्रतिक्रिया