स्थानीय तह उपनिर्वाचन : आज रातिदेखि मोरङको ग्रामथान प्रवेशमा रोक

शनिबार, १५ मंसिर २०८१
विराटनगर : मोरङको ग्रामथान गाउँपालिकामा आज (शनिबार) रातिदेखि प्रवेशमा रोक लगाइएको छ । अध्यक्ष चयनका लागि आइतबार हुन लागेको उपनिर्वाचनलाई लक्षित गरेर जिल्ला सुरक्षा सुरक्षा समितिले ग्रामथान प्रवेशमा रोक लगाएको हो । मतदान अवधिभर सवारीसाधन प्रवेशमा रोक लगाएको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी विनोदकुमार पोखरेलले जानकारी दिए । उनका अनुसार जिल्ला सुरक्षा समितिले आज राति १२ बजेदेखि भोलि (मंसिर १६ गते) मतदान नसकिएसम्मका लागि सवारीसाधानलाई पालिका प्रवेशमा रोक लगाएको हो । निर्वाचन सम्पन्न नभएसम्मका लागि ग्रामथान प्रवेश गर्ने बूढीगंगा गाउँपालिका–७ डंग्राहा, विराटनगर महानगरपालिका–१९ को मिलन चोक, कटहरी गाउँपालिका– ७ को भौडाहा, सुन्दरहरैँचा नगरपालिका–१ को हरैंचाबाट अत्यावश्यकबाहेकका सवारीलाई रोक लगाइएको पोखरेलले जानकारी दिए । ग्रामथान प्रवेश गर्ने चार वटै नाकामा सुरक्षाकर्मी परिचालन गरिएको छ । अनुमति लिएका र अतिआवश्यकीय सवारी भने सडकमा गुड्न पाउनेछन् । ग्रामथानको अध्यक्षमा एमालेबाट तुलसीराम विश्वास, कांग्रेसबाट बलराम सरदार, माओवादी केन्द्रबाट नमोनारायण माझी, रास्वपाबाट नवीनकुमार विश्वास, राप्रपाबाट दिनेशकुमार थन्दार (दिवेश), अशोक राई नेतृत्वको जसपाबाट धर्मेन्द्रकुमार चौधरी उम्मेदवार छन् । त्यस्तै, नागरिक उन्मुक्ति पार्टीबाट बुद्धिचन विश्वास, नेकपा (एकीकृत समाजवादी) पार्टीबाट दिलबहादुर विश्वकर्मा, उपेन्द्र यादव नेतृत्वको जसपा नेपालबाट सुरेशकुमार राजवंशी, समावेशी समाजवादी पार्टी नेपालबाट बोधनारायण माझी, नेपाल मजदुर किसान पार्टी (नेमकिपा)बाट पर्शुराम विश्वास थारु, मंगोल नेशनल अर्गनाइजेसनबाट भरत राई, बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीबाट रामकुमार चौधरी, जनमत पार्टीबाट विनोदकुमार माझी, कमल थापा नेतृत्वको राप्रपा नेपालबाट राजु मुसहर र नमनारायण चौधरी स्वतन्त्र उम्मेदवार छन् । ग्रामथानको अध्यक्षमा यसअघि २०७९ मा नेपाली कांग्रेसका जयप्रकाश गच्छदार निर्वाचित भएका थिए । गत असार ३ गते उनको निधन भएपछि आइतबार उपनिर्वाचन हुन लागेको हो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार