विराटनगर : मोरङको ग्रामथानमा नेपाली कांग्रेसले मौन अवधिको उल्लंघन गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आरोप लगाएको छ ।
गाउँपालिका अध्यक्ष चयनका लागि उपनिर्वाचन हुने अघिल्लो दिन कांग्रेसले सम्मेलन गरेको रास्वपाले आरोप लगाएको हो ।
ग्रामथान गाउँपालिका–६ मा आज (शनिबार) बिहान सम्मेलन गरेको भन्दै रास्वपाले कांग्रेसविरूद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरीसमेत गरेको छ ।
ग्रामथानमा भएको भेलामा कांग्रेस नेता गुरुराज घिमिरे सहभागी थिए । निर्वाचनको अघिल्लो दिन मान्छे भेला पारेर सम्मेलन गरेको रास्वपाको आरोप छ । कांग्रेस नेताहरू भेला भएको स्थानको भिडियो खिचेपछि कांग्रेसका कार्यकर्ताले रास्वपा कार्यकर्तालाई हातपात पनि गरेको आरोप लागेको छ ।
रास्वपाबाट आध्यक्षका उम्मेदवार नवीनकुमार विश्वासले मौन अवधिको समयमा आफ्नो घरनजिकै कांग्रेसले भेला गरेपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी गरिएको जानकारी दिए । भेलाको भिडियो खिच्न खोज्दा आफ्ना पार्टीका सदस्यमाथि हातपात भएको उनको दाबी छ ।
‘निर्वाचन आचारसंहिता लागेका बेला २०–२५ जना बस्नु आचारसंहिता विपरीत भयो,’ उनले भने, ‘भेला गरेपछि हाम्रो पार्टीका सदस्यले निर्वाचन आचारसंहिता विपरीत भयो भन्दा हातपात गरियो ।’
कांग्रेस नेता घिमिरेले भने पार्टीको कुनै सम्मेलन नभएको दाबी गरे । पार्टीको सम्पर्क कार्यालयमा बसिरहेको अवस्थामा २–३ जनाले भिडियो खिचेर लगेको उनले बताए ।
‘२०८० सालको वडा सम्मेलनको ब्यानर यहाँ टागिरहेको छ । उम्मेदवारको कुनै प्रचारप्रसार झल्किने खालको केही ब्यानर छैन,’ उनले भने, ‘यो हाम्रो वडा कार्यालय हो । वडा कार्यालयमा बसेर ‘वर्क डिभिजन’ गरिरहेका थियौं ।’
सहायक निर्वाचन अधिकृत राजराज पौडेलले रास्वपाले उजुरी गरेपछि छानबिन भइरहेको र उजुरीमाथिको कारबाही अगाडि बढाइएको बताए ।
प्रतिक्रिया