मोरङको ग्रामथानका सबै केन्द्रमा मतदान सुरू

आइतबार, १६ मंसिर २०८१
विराटनगर : स्थानीय तह उपनिर्वाचनअन्तर्गत मोरङको ग्रामथान गाउँपालिकाका सबै मतदान केन्द्रमा मतदान सुरू भएको छ । सहायक निर्वाचन अधिकृत रामराज पौडेलका अनुसार सबै केन्द्रमा मतदान सुरु भइसकेको छ । ‘दलका प्रतिनिधि बुथमा बसिसके । मतदान अधिकृतले मतपत्रमा हस्ताक्षर गरिरहनुभएको छ । सबै केन्द्रमा मतदान सुरू भइसक्यो’ पौडेलले भने । उनी अहिले ग्रामथान–५ को देवी मावि मतदानस्थलमा छन् । पौडेलका अनुसार सबैभन्दा पहिले ग्रामथान–१ को खुनियाकट्टास्थित बेगन आधारभूत विद्यालय मतदान केन्द्रमा मतदान सुरू भएको हो । ७ वटा वडा रहेको ग्रामथानमा २६ हजार ४४ मतदाता छन् । १२ वटा मतदानस्थल र २९ वटा मतदान केन्द्र तोकिएको छ । निर्वाचन आयोगले मतदानका लागि आज (आइतबार) बिहान ७ देखि साँझ ५ बजेसम्मको समय तोकेको छ । निर्वाचन आयोगले सुरक्षाको पूर्ण प्रत्याभूति दिलाउने गरी सुरक्षा व्यवस्था मिलाइएका कारण निर्धक्कसाथ मतदानमा सहभागी हुन मतदातालाई आग्रह गरेको छ । निर्वाचनका लागि ३ घेराको सुरक्षा व्यवस्था मिलाइएको छ। निर्वाचनको भित्री एवं पहिलो घेरामा नेपाल प्रहरी रहने छ । बीच वा दोस्रो घेरामा सशस्त्र प्रहरी र अन्तिम अर्थात तेस्रो घेरामा नेपाली सेनाले सुरक्षा प्रदान गर्ने गृह मन्त्रालयले जनाएको छ । गर्भवती, अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिक, बिरामी, किरियापुत्री, सुत्केरी तथा अन्य (लैंगिक तथा यौनिक अल्पसंख्यक) मतदातालाई प्राथमिकताका आधारमा मतदान गर्ने व्यवस्था मिलाइएको छ । मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी भएका मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा परिचयपत्र वा सवारी चालक अनुमति पत्र (लाइसेन्स)को सक्कल प्रमाणका आधारमा मतदान गर्न पाउने छन् । ग्रामथानको अध्यक्ष चयनका लागि उपनिर्वाचन हुँदैछ । यसअघि २०७९ मा नेपाली कांग्रेसका जयप्रकाश गच्छदार निर्वाचित भएका थिए । गत असार ३ गते उनको निधन भएपछि उपनिर्वाचन भएको हो । ग्रामथानको अध्यक्षमा एमालेबाट तुलसीराम विश्वास, कांग्रेसबाट बलराम सरदार, माओवादी केन्द्रबाट नमोनारायण माझी, रास्वपाबाट नवीनकुमार विश्वास, राप्रपाबाट दिनेशकुमार थन्दार (दिवेश), अशोक राई नेतृत्वको जसपाबाट धर्मेन्द्रकुमार चौधरी उम्मेदवार छन् । त्यस्तै, नागरिक उन्मुक्ति पार्टीबाट बुद्धिचन विश्वास, एकीकृत समाजवादी पार्टीबाट दिलबहादुर विश्वकर्मा, उपेन्द्र यादव नेतृत्वको जसपा नेपालबाट सुरेशकुमार राजवंशी, समावेशी समाजवादी पार्टी नेपालबाट बोधनारायण माझी, नेमकिपाबाट पर्शुराम विश्वास थारु, मंगोल नेशनल अर्गनाइजेसनबाट भरत राई, बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीबाट रामकुमार चौधरी, जनमत पार्टीबाट विनोदकुमार माझी, कमल थापा नेतृत्वको राप्रपा नेपालबाट राजु मुसहर र नमनारायण चौधरी स्वतन्त्र उम्मेदवार छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार