मोरङको ग्रामथानमा एक हजारभन्दा बढी मत खस्यो

आइतबार, १६ मंसिर २०८१
विराटनगर : स्थानीय तह उपनिर्वाचनअन्तर्गत मोरङको ग्रामथान गाउँपालिकामा शान्तिपूर्ण रूपमा मतदान जारी छ । मतदाताले लाइनमा बसेर मतदान गरिरहेका छन् । यो समाचार तयार पार्दासम्म एक हजारभन्दा बढी मत खसिकेको छ । सहायक निर्वाचन अधिकृत रामराज पौडेलले हालसम्म एक हजार ७६ मत खसिसकेको जानकारी दिए । उनका अनुसार मतदानस्थल र केन्द्रको सुरक्षा व्यवस्था कडा पारिएको छ । मतदानका क्रममा कुनै समस्या छैन । सबै केन्द्रमा निर्वाध रूपले मतदान जारी रहेको पौडेलले बताए । सबैभन्दा बढी मत ग्रामथान–६ को रविहाटस्थित पब्लिक मावि मतदानस्थलमा खसेको छ । त्यहाँ १ सय ९६ मत झरिसकेको हो । मतदानस्थलमध्ये ग्रामथान–१ को लखन्तरीस्थित वीरेन्द्र माविमा १ सय ५५, खुनियाकट्टास्थित बेगन आधारभूत विद्यालयमा ७२, ग्रामथान–२ स्थित वडा कार्यालयमा १ सय १४, झोराहाटस्थित सरस्वती माविमा ४६, ग्रामथान–३ को भौसाबाडीस्थित राधाकृष्ण आधारभूत विद्यालयमा ६३, सिद्राहास्थित वाणी माविमा ५४ मत खसेको छ । त्यस्तै, ग्रामथान–४ को लोहासुरस्थित महेन्द्र माविमा ४६ र मोतीपुरस्थित लोहन्द्रा आधारभूत विद्यालयमा ७१, ग्रामथान–५ को तेतरियास्थित देवी माविमा १ सय ३७, ग्रामथान–६ को रविहाटस्थित पब्लिक माविमा १ सय ९६, ग्रामथान–७ को धोवियारेस्थित गणेश माविमा ७७ र बनिगास्थित सरस्वती आधारभूत विद्यालयमा ४५ मत खसेको छ । ग्रामथानमा १२ मतदानस्थल र २९ वटा केन्द्र तोकिएको छ । आज ९आइतबार० बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म जारी रहने सहायक निर्वाचन अधिकृत पौडेलले बताए । ग्रामथानको अध्यक्ष चयनका लागि उपनिर्वाचनअन्तर्गत मतदान चलिरहेको हो । ७ वटा वडा रहेको ग्रामथानमा २६ हजार ४४ जनाले मतदानमा सहभागी हुन पाउने छन् । निर्वाचन आयोगले सुरक्षाको पूर्ण प्रत्याभूति दिलाउने गरी सुरक्षा व्यवस्था मिलाइएका कारण निर्धक्कसाथ मतदानमा सहभागी हुन मतदातालाई आग्रह गरेको छ । निर्वाचनका लागि ३ घेराको सुरक्षा व्यवस्था मिलाइएको छ । निर्वाचनको सुरक्षाका लागि भित्री एवं पहिलो घेरामा नेपाल प्रहरी रहेको छ । बीच वा दोस्रो घेरामा सशस्त्र प्रहरी र अन्तिम अर्थात तेस्रो घेरामा नेपाली सेनाले सुरक्षा प्रदान गरिरहेको मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले बताए । गर्भवती, अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिक, बिरामी, किरियापुत्री, सुत्केरी तथा अन्य (लैंगिक तथा यौनिक अल्पसंख्यक) मतदातालाई प्राथमिकताका आधारमा मतदान गर्ने व्यवस्था मिलाइएको छ । मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी भएका मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा परिचयपत्र वा सवारी चालक अनुमति पत्र (लाइसेन्स)को सक्कल प्रमाणका आधारमा मतदान गर्न पाउने छन् । ग्रामथानको अध्यक्षमा यसअघि २०७९ मा नेपाली कांग्रेसका जयप्रकाश गच्छदार निर्वाचित भएका थिए । गत असार ३ गते उनको निधन भएपछि अध्यक्ष चयनका लागि आज उपनिर्वाचन भइरहेको हो । यो पनि – मोरङको ग्रामथानका सबै केन्द्रमा मतदान सुरू

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार