विराटनगर : स्थानीय तह उपनिर्वाचनअन्तर्गत मोरङको ग्रामथान गाउँपालिकामा मतदान सकिएसँगै मतपेटिका संकलन सुरु भएको छ ।
सहायक निर्वाचन अधिकृत रामराज पौडेलका अनुसार ७१.३३ प्रतिशत मत खसेको छ । ७ वटा वडा रहेको ग्रामथानमा २६ हजार ४४ मतदाता थिए । तीमध्ये १८ हजार ५ सय ७७ जना मतदानमा सहभागी भएको पौडेलले बताए ।
पुरुषभन्दा बढी महिला मतदानमा सहभागी भएका छन् । ९ हजार ६ सय ७७ जना महिला र ८ हजार ९ सय पुरुष मतदानमा सहभागी भएको जानकारी पौडेलले दिए ।
मतदाताको संख्या पनि पुरुषभन्दा महिलाको धेरै थियो । १३ हजार ४१ महिला र १३ हजार ३ पुरुष मतदाता रहेका थिए । मतदातामध्ये ७ हजार ४ सय ६७ जना मतदानमा सहभागी भएनन् ।
ग्रामथानमा १२ मतदानस्थल र २९ मतदान केन्द्र कायम गरिएको थियो । विभिन्न दलबाट १५ र स्वतन्त्र १ सहित १६ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए ।
मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले मतदान सकिएसँगै मतपेटिका संकलनको काम सुरु भएको जानकारी दिए ।
निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको उनले बताए । भट्टराईका अनुसार मतपेटिका संकलन सकिएपछि मतगणना सुरू गरिनेछ ।
सर्वदलीय सहमति जुटेमा आजै रातिबाट मतगणना सुरू गर्ने तयारी छ । मतपेटिका संकलन सकिएपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले सर्वदलीय बैठक बोलाउने छ ।
बैठकपछि मतगणना कहिले सुरु गर्नेभन्ने टुंगो लाग्ने छ ।
प्रतिक्रिया