मोरङको ग्रामथानमा १० बजेदेखि मतगणना हुने

आइतबार, १६ मंसिर २०८१
मोरङ : मोरङको ग्रामथान गाउँपालिकाको मतगणना आज (आइतबार) राति १० बजेदेखि गर्ने निर्णय भएको छ । अध्यक्षका लागि आज (आइतबार) भएको मतदानपछि सर्वदलीय बैठकले राति १० बजेदेखि मतगणना गर्ने निर्णय भएको हो । राजनीतिका प्रतिनिधिसहित सर्वदलीय बैठक बसिएको थियो । बैठकमा राति १० बजेदेखि मतगणना गर्ने सहमति जुटेको मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए । उनका अनुसार दुई वटा वडाको मतपत्र एकैठाउँ मिसाएर मतगणना गर्ने तयारी छ । दुई वटा वडाको मतगणना सकिएपछि पुनः अरू दुई वटा वडाको मतगणना गरिनेछ । मुख्य निर्वाचन अधिकृतको कार्यालय तेतरियामा मतगणना गर्ने तयारी छ । गाउँपालिकाको कार्यालय पनि त्यहीँ रहेको छ । ग्रामथान गाउँपालिका अध्यक्ष पदका लागि भएको निर्वाचनमा ७१.३३ प्रतिशत मत खसेको थियो । ग्रामथानमा २६ हजार ४४ मतदाता थिए। तीमध्ये १८ हजार ५ सय ७७ जना मतदानमा सहभागी भएका हुन्। जसमा ९ हजार ६ सय ७७ जना महिला र ८ हजार ९ सय पुरुष मतदानमा सहभागी भएको सहायक निर्वाचन अधिकृत रामराज पौडेलले जानकारी दिए। ग्रामथानमा १२ मतदानस्थल र २९ मतदान केन्द्र कायम गरिएको थियो। विभिन्न दलबाट १५ र स्वतन्त्र एक सहित १६ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । ग्रामथानको अध्यक्षमा यसअघि २०७९ मा नेपाली कांग्रेसका जयप्रकाश गच्छदार निर्वाचित भएका थिए । गत असार ३ गते उनको निधन भएपछि अध्यक्ष चयनका लागि आज उपनिर्वाचन भएको हो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार