कांग्रेसबाट वडाध्यक्षमा टिकट नपाएपछि स्वतन्त्र उठेर पराजित, माओबादी प्रवेश गरी पालिका अध्यक्षमा निर्वाचित

सोमबार, १७ मंसिर २०८१
इटहरी : कांग्रेसबाट वडाध्यक्षको टिकट नपाएर स्वतन्त्रबाट उठेर पराजित भएका नमोनारायण माझी गाउँपालिका अध्यक्षमा निर्वाचित भएका छन् । ०७९ सालको स्थानीय तहको निर्वाचनमा मोरङको ग्रामथान गाउँपालिका १ को वडाध्यक्षमा नमोनारायणले कांग्रेसबाट टिकटको आकांक्षा राखेका थिए । तर, उनलाई पार्टीले उनलाई टिकट दिएन । कांग्रेसबाट टिकट नपाएपछि उनी स्वतन्त्र उम्मेदवारी दिएर वडाध्यक्ष उठे । तर, उनी पराजित बने । स्वतन्त्र उम्मेदवारी दिएर पराजित भएका उनी गत भदौमा माओबादी केन्द्र प्रवेश गरे । माओबादी केन्द्र प्रवेश गरेका उनै नमोनारायण माझी ग्रामथान गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका छन् । आइतबार भएको उपनिर्वाचनमा ६ हजार ९ सय ६९ मत प्राप्त गर्दै गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका बलराम सरदारले ५ हजार ३ सय ३३ मत प्राप्त गरे । उनीहरूबीचको मतान्तर १ हजार ६ सय ३६ छ । यसैगरी नेकपा एमालेका तुलसीराम विश्वासले ४ हजार १ सय ५९ मत मत प्राप्त गरे । गाउँपालिका अध्यक्षमा निर्वाचित भएपछि नमोनारायणले सञ्चारकर्मीसँग प्रतिक्रिया दिदैँ ग्रामथानबासीले कुशल अभिभावक पाएको बताए । ‘ग्रामथानबासीले कुशल अभिभावक पाउँदै हुनुहुन्छ,’ उनले भने, ‘यो अभिभावकलाई तपाईँहरूको अति सहयोग आवश्यक छ । ग्रामथानबासीले यहाँबाट पाउने सेवाको कमी हुँदैन । विगतमा के भयो, भयो कि भएन, त्यो माइनर राख्दिन ।’ ग्रामथानमा ग्रामथानमा ७ वटा वडा छन् । जसमा २६ हजार ४४ मतदाता रहेपनि आइतबार भएको उपनिर्वाचनमा १८ हजार ५७७ मत खसेको थियो । मोरङ क्षेत्र नं. ४ बाट प्रतिनिधिसभा सदस्य तथा पूर्व मन्त्री अमनलाल मोदी माओबादीका लागि चुनावी कमाण्डर बनेर खटिएका थिए । नमोनारायणलाई पार्टी प्रवेश गराउनेदेखि टिकट दिलाउनेसम्मको भूमिका अमनलालको नै रहेको थियो । उनीसहित माओबादी कोशी प्रदेश इञ्चार्ज हरिबोल गजुरेल, सह–इञ्चार्जहरू सावित्रीकुमार काफ्ले, अजम्बर काङ्माङ राई, राष्ट्रियसभामा माओवादीका प्रमुख सचेतक गोपी अछामीदेखि पूर्वराज्यमन्त्री विजयकुमार विश्वास, पूर्वसांसद कुलप्रसाद साम्बालगायतका नेता निर्वाचनमा खटिएका थिए । ०७४ सालको स्थानीय तह निर्वाचनमा तत्कालीन फोरम लोकतान्त्रिकबाट मोरङको ग्रामथान १ को वडाध्यक्षमा नमोनारायण माझी निर्वाचित भए । पछि फोरम र नेपाली कांग्रेस एकीकरण भएपछि उनै नमोनारायण कांग्रेस भएका थिए । ०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेले गाउँपालिका अध्यक्ष जित्यो । ०७९ सालको निर्वाचनमा भने नेपाली कांग्रेसले जित्यो । यसरी हेर्दा ग्रामथानमा सत्तारुढ नेपाली कांग्रेस र नेकपा (एमाले)ले एक–एक कार्यकाल नेतृत्व गरिसकेका छन् । तर, २०७९ सालमा नेपाली कांग्रेसका जयप्रकाश गच्छदार निर्वाचित भएपनि राष्ट्रियसभाको निर्वाचनमा मत हाल्न विराटनगर गएको बेला उनी अचानक बेहोस भएका थिए । उपचारका क्रममा उनको गत असार ३ गते निधन भएसँगै रिक्त रहेको अध्यक्ष पदका लागि आइतबार निर्वाचन भएको हो । २०७४ मा एमालेका शिवनारायण माझी थारूले ४ हजार ७ सय २० मतसहित अध्यक्षमा निर्वाचित भएका थिए । उनका निकटतम प्रतिस्पर्धी तत्कालीन फोरम लोकतान्त्रिकका जयप्रकाश गच्छदार थारूले ४ हजार ६ सय ६१ मत प्राप्त गरेका थिए । अघिल्लो चुनावमा ५९ मतान्तरले विजयी भएका शिवनारायणलाई २०७९ मा कांग्रेसबाट उम्मेदवार बनेर उनै जयप्रकाशले पराजित गरे । जयप्रकाशले ७ हजार ६ सय ५ मत पाउँदा शिवनारायण ६ हजार ९३ मतमा सीमित भएका थिए । तर, जयप्रकाशको निधन भएसँगै रिक्त रहेको पदमा उपनिर्वाचन भएको हो । यो पनि – मोरङको ग्रामथान गाउँपालिका अध्यक्षमा माओबादीका नमोनारायण माझी निर्वाचित, एमाले तेस्रो  

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार