काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओली चारदिने औपचारिक भ्रमणका लागि चीन प्रस्थान गरेका छन्। चिनियाँ प्रधानमन्त्री ली छ्याङको निमन्त्रणमा प्रधानमन्त्री ओली त्यसतर्फ प्रस्थान गरेका हुन्। उनी हिमालयन एयरलाइन्सको चार्टर विमानबाट चीन उडेका हुन्।
प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डे, नेपालस्थित चिनियाँ दूतावासका उपप्रमुख वाङ सीन,सुरक्षा निकायका प्रमुखलगायतले विदाइ गरेका थिए।
भ्रमण टोलीमा प्रधानमन्त्रीकी पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा,प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा युवराज खतिवडा, सङ्घीय सांसद्हरु, मुख्यसहित विशिष्ट श्रेणीका सरकारी अधिकारीहरू,निजी क्षेत्रका प्रतिनिधिहरू,सञ्चारकर्मीलगायत ८७ छन्।
भ्रमण टोलीमा सहभागी ८७ जनामध्ये सरकारी खर्चमा ३९ जना र निजी खर्चमा ४८ जना चीन गएका हुन्।
प्रधानमन्त्री ओलीले चीन भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी चिनफिङलगायत शीर्ष नेताहरूसँग भेटघाट गर्नेछन्। प्रधानमन्त्री ओलीले पेकिङ विश्विविद्यालयमा सम्बोधन गर्नेछन्। यसैगरी उनी अन्य विभिन्न कार्यक्रममा सहभागी हुनेछन्।
गठबन्धनका दलबीच चिनियाँ परियोजना (बीआरआई) कार्यान्वयनमा ‘मध्यमार्गी बाटो’अपनाएर ओली चीन उडेका हुन्।
बीआरआई कार्यान्वयनको सम्झौताका विषयलाई लिएर कांग्रेस र एमालेबीच लामै छलफल चलेको थियो।
प्रतिक्रिया