इटहरीबाट पक्राउ पर्यो नक्कली सुन देखाएर ठगी गर्ने गिरोह

सोमबार, १७ मंसिर २०८१
विराटनगर : नक्कली सुन देखाएर सर्वसाधारणमाथि ठगी गर्ने गिरोहलाई प्रहरीले इटहरीबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुई जना भारतीय नागरिकसहित गिरोहका ६ जना रहेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङले आज (सोमबार) पत्रकार सम्मेलन गरेर उनीहरूलाई सार्वजनिक गरेको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार भारतको दार्जिलिङका ५१ वर्षीय नारायण गुरुङ, ३४ वर्षीय सञ्जय शर्मा, झापाको कमल गाउँपालिका–१ तोपगाछीका ५२ वर्षीय अशोक तामाङ, कनकाई नगरपालिका–९ घैलाडुब्बाका ५९ वर्षीय धकलबहादुर थिङ, अर्जुनधारा नगरपालिका–११ का ५४ वर्षीय प्रवीन तामाङ र हल्दिबारी गाउँपालिका–३ का ६६ वर्षीय रामबहादुर कन्दङवालाई पक्राउ गरी सार्वजनिक गरिएको छ । संखुवासभाको पाँचखपन नगरपालिका–५ का कृष्णबहादुर तामाङले कात्तिक २७ गते बिरामी पत्नीलाई उपचारका लागि मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पताल ल्याएका थिए । अस्पतालमै भेटघाट भएका अपरिचित व्यक्तिले गाउँले दाजुभाइको नाता लगाएर सहयोग गर्ने बहानामा झोलाभित्र राखेको एक लाख १० हजार रूपैयाँ चोरेका थिए । घटनामा विभिन्न प्राविधिक पक्षको विश्लेषण गर्ने क्रममा गिरोहलाई पक्राउ गर्न प्रहरी सफल भएको मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाले बताए । उनका अनुसार अस्पतालबाट पैसा चोरी गरेर हिँडेका व्यक्ति अशोक तामाङ हुन् । यो गिरोहले मोरङसहित झापा र सुनसरीमा पनि ठगी गरेको पाइएको चिमरियाको भनाइ छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलीले गिरोहलाई इटहरीका विभिन्न स्थानबाट पक्राउ गरेको हो । ‘विशेष गरेर हटिया, अस्पताल, मेला, पर्व र भीडभाड बढी हुने ठाउँमा गएर गरगहना लगाएका सोझा र वृद्ध अवस्थाका मानिसहरुलाई सुनजस्तो धातु देखाइ प्रलोभनमा पारेर ठगी गर्ने गरेको पाइयो,’ चिमरियाले भने । उनका अनुसार नक्कली सुनका टिल (बिस्कुट) देखाएर प्रलोभनमा पार्दै सर्वसाधारणले लगाएका गरगहना र उनीहरूसँग भएको पैसा ठगी गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । ठगीमा संलग्न गिरोह होटल परिवर्तन गरिरहने, गलत नामहरू बताउने, फ्ल्याट भाडामा लिएर बस्ने, अन्य व्यक्तिका नाममा रहेका मोबाइलका सिम प्रयोग गर्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । प्रारम्भिक अनुसन्धानबाट सुनसरीमा ५, मोरङमा ४ र झापामा १ जनामाथि ठगी गरेको खुलेको छ । ‘यो गिरोहले अन्य धेरै जनामाथि ठगी गरेको छ । पीडितहरू हाम्रो सम्पर्कमा आइरहेका छन्,’ एसपी चिमरियाले भने । पक्राउ परेको समूहबाट सुनजस्तो देखिने पहेँलो धातुबाट बनाइएको तिलहरी, हार, मंगलशूत्र, टिल, चन्द्रमा, कानमा लगाउने रिङ, बेरुवा, लकेट, सिक्री, झुम्का, टप, ब्रासलेट, औंठी, चाँदीको पाउजू, जिमाला, कालो पोतेलगायत बरामद भएको उनले बताए । साथै, २ लाख ७२ हजार ४ स ३० नेपाली र २ हजार ६ स ३० भारती रूपैयाँसमेत बरामद भएको छ । सामान र नगद पक्राउ परेकाको घर तथा कोठाबाट बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ प्रतिवादीविरुद्ध ठगी मुद्दा चलाउन प्रहरीले सोमबार अदालतबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अगाडि बढाएको प्रहरीको भनाइ छ । कसुर ठहर भएमा ७ वर्षसम्म कैद र ७० हजार रूपैयासम्म जरिबाना हुने कानुनी व्यवस्था छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार