विराटनगर : मोरङको ग्रामथान गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष नमोनारायण माझीले निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने पहिलो निर्णय गरेका छन् ।
उनले बुधबार गाउँपालिकाका सम्पूर्ण नागरिकलाई आकस्मिक स्वास्थ्य सेवाका लागि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने निर्णय गरेका हुन् । अहिलेसम्म गाउँपालिकाले निःशुल्क एम्बुलेन्स सेवा दिन सकेको थिएन ।
माझीले पालिका परिसरमा बुधबार शपथ लिएलगत्तै अध्यक्षको पदभार ग्रहण गरेका छन् ।
‘ग्रामथान गाउँपालिका वा विराटनगरका कुनै पनि स्वास्थ्य संस्थासँग जाने प्रयोजनका लागि तथा ग्रामथान गाउँपालिकाभित्रका जुनसुकै स्थानमा दुर्घटना वा अन्य कुनै कारणबाट आकस्मिक स्वास्थ्य सेवा आवश्यक पर्ने अन्य व्यक्तिहरूलाईसमेत आजकै मितिबाट एम्बुलेन्स सेवा पूर्ण रूपमा उपलब्ध गराउने निर्णय गर्दछु,’ उनले गरेको निर्णयको व्यहोरा सुनाउँदै पालिकाका प्रमुख प्रशासकीय अधिकृत रामराज पौडेलले भने ।
शपथग्रहणपछि पदभार ग्रहण गर्दै अध्यक्ष माझीले जनताको इच्छा र आकांक्षा अनुरुप आफू अगाडि बढ्ने बताए ।
माझीलाई बुधबार नै मोरङका जिल्ला न्यायाधीश उद्धवप्रसाद भट्टराईले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।
शपथग्रहण कार्यक्रममा पूर्व मन्त्री तथा प्रतिनिधिसभा सदस्य अमनलाल मोदी, कोशी प्रदेशका सांसद जयप्रकाश चौधरी, पूर्व मन्त्री विजय विश्वास, पूर्व प्रदेशसभा सांसद कूलप्रसाद साम्बालगायत उपस्थित थिए ।
प्रतिक्रिया