धरान : कोशी राजमार्गको सेउती खोलाको पुलदेखि पानीपियासम्म जङ्गल क्षेत्रका सडकका विभिन्न स्थानमा भत्किन थालेका छन् ।
सेउतीबाट तरहरातर्फ जाने देब्रेतर्फको सडक करिब दुई महिना अघिबाट खोलिएको भएपनि अहिलेदेखि नै भत्किन सुरू भएको हो । सेउतीदेखि पानीपियाबीचका सडकका ११ स्थानमा भत्किएका छन् ।
सुस्त गतिमा निर्माण गरिएको उक्त सडक नागरिकहरूको चर्को दबाबपछि गत वर्षदेखि मात्रै एकतर्फी सुचारू भएको र पछिल्लो समय दुवैतर्फी गरिएको भएपनि यति चाँडै भत्किन थालेपछि पुनः नागरिकहरूले आवाज उठाउन थालेका छन् ।
बुधबार इन्जिनियरहरूसहित, कोशी प्रदेश सभा सदस्य विजयकुमार राई, रमेशकुमार बस्नेत, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राई, नेकपा (एमाले) सुनसरी सदस्य नारायण सुवेदी, नेकपा (एमाले) धरान नगर अध्यक्ष हर्कजंग एभेङ, नेपाल कांग्रेस धरान नगर सभापति श्याम पोखरेल, धरान १८ नम्बर वडाध्यक्ष नरेन्द्रकुमार राई (प्रविण) तथा सञ्चारकर्मीहरूको टोलीले सेउतीदेखि तरहरासम्मको सडकको अनुगमन गरेका थिए ।
सडकको अवस्था
अनुगमनका क्रममा टोलीमा सहभागी इञ्जिनियर मिथिलेश महतोका अनुसार सडकमा प्राविधिक त्रुटिहरू व्यापक रहेका छन् । सडकका धेरै स्थानमा सेग्रिगेशन (सडकको प्याचिङ खाल्डो) भएको छ । यसो हुनुमा विटविन् (अलकत्रा) र डस्ट (ढुङ्गाको धुलो)कम भएको वा तापक्रम नमिलाइएकोले भएको बताए ।
सडकको पिच उप्किएको र टुक्रा उडेको अवस्था रहेकाले यसलाई सच्याउनका लागि ठूला खाल्डा भएका सडकको भागलाई चारैतिरबाट कटिङ गरेर प्याचिङ कम्पेक्शन गर्नुपर्ने महतोको भनाइ छ ।
टोलीमा सहभागी अर्का इन्जिनियर डी क्षेत्रीले अरबौँको आयोजनामा सडक विभागमा मात्रै भर परेकाले गम्भीर कमजोरी भएको बताए । उनले भने, ‘यो आयोजनालाई अनुगमन गर्न कल्सल्टेन्ट नियुक्त गरिनुपर्नेमा त्यसो नहुँदा यस्तो लापरबाही भएको हो ।’
इञ्जिनियरहरूका अनुसार कोशी राजमार्गको सडकको मोटाई एक सय एमएम हो । अहिले बिछ्याइएको पिच ६० एमएमको हुनुपर्नेमा त्यसको मोटाइसमेत कम रहेकाले यो गम्भीर त्रुटि भएको हो ।
उनीहरूका अनुसार अब डिभिएममा थप ४० एमएमको अक्सपाल्ड पिच थपिने भएपनि डिभिएममै पिच भत्किएपछि अक्स्पाल्ड पिचमै पनि समस्या आउनसक्छ ।
अनुगमनका क्रममा मजदुर नेता भीमज्वाला राईसँगको कुराकानीमा सडक डिभिजन कार्यालय विराटनगरका डिभिजन प्रमुख राजेन्द्र साहले प्राविधिक कमजोरी भएकाले सच्याउने बताए । पानी परेको समयमा चिसो अक्स्पाल्ड पिच बिछ्याइएकाले त्रुटि भएको उनले बताए ।
प्यासिफिक हिमदुङ्गा जेबी, काठमाण्डौं मुख्य ठेकेदार कम्पनी रहेको भएपनि पानीपिया सेउती पुलसम्मको काम भने मल्ल कन्स्ट्रक्सनले गरिरहेको छ । मुख्य कम्पनीका प्रोप्राइटर ठाकुरप्रसाद कँडेल भने फोन सम्पर्कमा आएनन् ।
मल्ल कन्स्ट्रक्सनका प्रमुख प्रेम मल्लले कोशी प्रदेश सांसद विजयकुमार राईसँग कुराकानी गर्दै पिच गरे लगत्तै हेभी सवारीहरू छाडिदिएकाले पिच भत्किएको बताउँदै प्राविधिक रूपमा बलियो हुनेगरी सुधार गरिने बताए ।
प्रदेशसभा सदस्य रमेशकुमार बस्नेतसंग कुराकानी गर्दै साइड इञ्जिनियर अर्जुन साहले जनताको गुनासो आउन नदिनेगरी सडक निर्माण गर्ने बताए । जनताको व्यापक गुनासोपछि अनुगमनमा आएको उनको भनाइ छ ।
प्रतिक्रिया