इटहरी : धरानका मेयर हर्क साम्पाङले ‘खोज पत्रकारिताको अन्त्य गरिदिन्छु’ भन्दै पत्रकारलाई धम्की दिएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै पत्रकारलाई धम्की दिएका हुन् । उनले भोलि १० बजे पत्रकार सम्मेलनमा आउन उर्दीसमेत जारी गरेका छन् ।
‘खोज पत्रकारिता केन्द्रका गोपाल दाहाल या कोही प्रतिनिधि भोलि १० बजे तुरुन्तै हाजिर हुनु । अन्यथा, तेरो खोज पत्रकारिताको अन्त्य गरिनछु भने मेरो नाम हर्क साम्पाङ होइन !’ उनले सञ्जालमा लेखेका छन् ।
पत्रकार दाहालले केही दिनअघि खोज पत्रकारिता केन्द्रका लागि धरानका मेयर हर्क साम्पाङको मन मौजी शासन शैलीका विषयमा समाचार प्रकाशित गरेका थिए ।
उनले यसअघि अर्को स्टाटस लेख्दै भनेका छन्, ‘मलाई आरोप लाउने त्यो खोज पत्रकारिता गर्ने पत्रकार पनि आउनु होला ! नत्र तँ मूलाको यस्तो बेइज्यत गर्छु कि शीर ठाडो पारेर हिँड्न सक्दैनस नेपालमा ! जनकऋषि भन्ने पनि आउनु !’
जनकऋषि राई पत्रकार महासंघ सुनसरीका अध्यक्ष हुन् । मेयर साम्पाङले आफू अनुकूल समाचार नलेख्ने मिडिया तथा पत्रकारलाई पटकपटक लाञ्छना लगाउँदै आएका छन् ।
प्रतिक्रिया