नारायण गोपालको ३४औं स्मृति दिवसमा तीन श्रष्टा सम्मानित

विहीबार, २० मंसिर २०८१
काठमाडौं : स्वरसम्राट नारायण गोपालको ३४औं स्मृति दिवसका अवसरमा तीन श्रष्टालाई सम्मान गरिएको छ। नारायण गोपाल सङ्गीत कोषले बुधबार साँझ एक कार्यक्रम आयोजना गरी ‘नारायण गोपाल स्मृति सम्मान २०८१’ मार्फत सङ्गीततर्फ सङ्गीतकार बुलु मुकारुङ, गायनतर्फ कुमार बस्नेत र गीत रचनातर्फ शिवशङ्कर थापालाई सम्मान गरिएको हो। स्वरसम्राट नारायण गोपालसँग सामिप्यता रहनुभएका र सङ्गीतमा विशेष योगदान दिनुभएका श्रष्टालाई योगदानको कदरस्वरूप जनही रु ५१ हजार र ताम्रपत्रबाट सम्मान प्रदान गरिएको कोषका अध्यक्ष दीपक केसीले जानकारी दिए। ‘स्वरसम्राट नारायण गोपालको विषयमा हामीले जति चर्चा गरेपनि पुग्दैन’, उनले भने, ‘अहिलेको पुस्ताले पनि उहाँको गीत मन पराउनाले उहाँको गीतसङ्गीत कति बुलन्द रहेछ भन्ने प्रस्ट्याउँछ। उहाँले नेपालीलाई कालजयी गीत दिनुभएको छ।’ अध्यक्ष केसीले बुधबार देशभर उहाँको सम्झनामा विभिन्न कार्यक्रम पनि भएका जानकारी दिए। उनले धुम्वाराहीमा नारायण गोपाल सङ्गीत कोषले आफ्नो भवन निर्माण गरिरहेको पनि बताए। सम्मानित सङ्गीतकार मुकारुङले नारायण गोपाल जस्तो व्यक्तिको नामसँग जोडिएको सम्मान पाउनु आफ्नो लागि विशेष महत्व रहेको बताए। ‘नारायण गोपाल सङ्गीतको विश्वविद्यालय हुनुहुन्छ। विगत छ दशकदेखि समकालीन सुरकर्मीसम्म उहाँको गीत पहिलो रोजाइमा पर्नुले उहाँको क्षमतालाई प्रस्ट्याउँछ,’ उनले भने, ‘यस्ता धेरै कारणले उहाँ स्वरसम्राट हुनुभएको हो। यो सम्मान मेरो लागि अस्कर अवार्ड भन्दा ठूलो छ। उहाँको गीत प्रत्यक्ष सुन्न पाउनु, सामीप्यता राख्न पाउनु मेरा लागि गौरवको विषय हो।’ ‘सम्झनामा नारायण गोपाल’ अन्तर्गत श्रष्टाहरूले उनलाई गीतमार्फत सम्झिएका थिए। गायक दीव्यकुमार सिटौलाले ‘मलाई छोडी मेरै छायाँ...’, गायक साजन लामाले ‘यति चोखो यति मिठो...’, गायक राजेन्द्र श्रेष्ठले ‘गल्ती हजार हुन्छन.....’, गायक महेन्द्र गुरुङ र रोजी श्रेष्ठले ‘ए कान्छा ठट्टैमा यो जोवन...’, गायक सम्भव जङ्गम थापा र सङ्गीत तिमिल्सिनाले ‘मेरो जोवन लौजाउ...’, गायक रामकृष्ण ढकालले ‘तिमीलाई भुल्दा...’, गायक छिरिङ भुटियाले ‘मन्दिरमा छकी मूर्तिमा माया...’ लगायत गीत प्रस्तुत गर्दै स्वरसम्राट नारायण गोपालको स्मरण गरे। विसं १९९६ असोज १८ गते जन्मिएका स्वरसम्राट नारायण गोपालको विसं २०४७ मङ्सिर १९ गते निधन भएको थियो। प्रत्येक वर्या मङ्सिर १९ गते उहाँ र गीतसङ्गीतलाई स्मरण गर्दै स्मृति दिवसलाई मनाउने गरिन्छ।

प्रतिक्रिया

रासस
लेखकको बारेमा
रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

सम्बन्धित समाचार