इटहरी : धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ)ले आफू परिवर्तन नहुने र यही नै हर्कपथ रहेको बताएका छन् ।
पटकपटक विवादमा मुछिइरहने मेयर साम्पाङले आफू कसैसँग नडराउने भएको र आफू परिवर्तन पनि नहुने बताएका हुन् । बुधबार पत्रकार गोपाल दाहाललाई पत्रकारिता सिध्याइदिने धम्की दिएका उनले बिहीबार पत्रकार सम्मेलन गर्दै भने, ‘म नडराइ बोल्नु र कसैको सामु नझुक्नु नै मेरो विशेषता हो । यो हर्कवाद हो, यही हो हर्कपथ । म चेञ्ज हुन्न, म यस्तै हो ।’
सामाजिक सञ्जाल फेसबुकमा अरूको चर्को आलोचना गर्ने र आफू अनुकूल समाचार नलेख्नेहरूका विरूद्धमा अभिव्यक्ति दिने साम्पाङ आफूलाई विकासप्रेमी भन्न रुचाउँछन् ।
तर, उनले नेतृत्व गरेको धरानमा भएका बेथिति र उनी नक्कली माओबादी हुँदा वाइसियलले पक्राउ गरेकोबारे विस्तृतमा समाचार प्रकाशन गरेका दाहाललाई धम्की दिएपछि मेयर साम्पाङले बिहीबार पत्रकार सम्मेलन गरेका हुन् ।
उनले एक फरक प्रसङ्मा राजनीतिक दलहरूको एजेन्डा आफूलाई असफल बनाउनु रहेको आरोपसमेत लगाए । ‘दलहरूको एजेन्डा भनेकै हर्क साम्पाङलाई असफल बनाउनु हो,’ उनले भने ।
प्रतिक्रिया